संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

रामेछाप खबर संवाददाता

२३ पुस, काठमाडौं ।

२२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । पोखरा रंगशालमा भएको खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टसलाई ३–२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १ सय १७ औँ मिनेटमा सुनिल बलले गोल गरेपछि संकटाले उपाधि जितेको हो ।

आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए । तर भुटनिजका ३७ औँ मिनेटमा रेने सान्टिलोनले र पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि नियमित समयमा गोल नहुँदा खेल अतिरिक्त समयमा पुगेको थियो । प्रतियोगिताको विजेता संकटाले १२ लाख र दोस्रो भएको भुटनिज युथ स्पोर्टसले ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।

फारवेस्टसँग पोखरा हारेसँगै काठमाडौँ प्लेअफमा
नेपाल टी–२० लिगको प्लेअफ समीकरण पूरा भएको छ। शनिबार टियू मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा फारवेस्टसँग पोखरा एभेन्जर्स पराजित भएसँगै काठमाडौँले प्लेअफमा स्थान पक्का गर्‍यो। लिगमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स क्वालिफायरमा रहँदा विराटनगर र काठमाडौँले प्लेअफमा स्थान बनाएका हुन्।

पोखरालाई प्लेअफमा स्थान बनाउन जित्नैपर्ने खेलमा फारवेस्टले १ सय ८६ रनको विशाल स्कोर दिएको थियो। तर पोखरा १ सय ४६ रनमा समेटिएपछि फार वेस्ट ४१ रनले विजयी बन्यो। जितका बाबजुत फारवेस्ट भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। फारवेस्टको जितले काठमाडौँ प्लेअफमा पुग्न सफल भयो।

टस जितेर पहिलो ब्याटिङ गरेको फारवेस्टले उत्कृष्ट प्रदर्शन गरेको थियो। फारवेस्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो। उसका ओपनरद्वय कप्तान हस्मतुल्लाह साहिदी र विनोद भण्डारीले सानदार अर्धशतकीय इनिङ खेले। उनीहरुले पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी गर्दै फारवेस्टलाई बलियो अवस्थामा पुर्‍यायो।

साहिदीले ५१ बलमा ६ चौका र २ छक्काको सहयोगमा ६७ रन बनाउँदा विनोद भण्डारीले ४७ बलमा ६ चौका र २ छक्का नै प्रहार गर्दै ५९ रनको स्कोर बनाएका थिए। त्यस्तै, रसिद खानले १४ रनको नटआउट इनिङ खेल्दा मिलिन्दा सिर्वार्दनाले १२ रन बनाएका थिए।

१ सय ८६ रनको लक्ष्य पछ्याएको पोखरा भने १८.१ ओभरमा १ सय ४६ रनमा समेटियो। उसका लागि प्रतिश जिसीले ११ बलमा ३४ रनको विष्फोटक इनिङ खेले पनि टिमको जितका लागि पर्याप्त भएन। उनीबाहेक कप्तान उपुल थरङ्गाले ३६ रन बनाउँदा सिद्वान्त लोहनीले २८ रन बनाएका थिए। त्यस्तै विशाल विक्रम केसी १३ रनमा आउट भए। पोखरालाई सस्तैमा समेट्ने क्रममा दुर्गेश गुप्ताले तीन विकेट लिँदा हस्मतुल्लाह साहिदी र प्रकाश जैशीले समान २–२ विकेट लिएका थिए।