२३ पुस,वासिङ्टन ।
अमेरिकाको भर्जिनियामा राज्यमा एक जना छ वर्षीय बालकले आफ्ना गुरुलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा एक छ वर्षीय बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ ।
न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न भएकी छन् । उनको ज्यान जोखिममा रहेको बताइएको छ । त्यति सानो शिशुले कक्षाकोठामा बन्दुक कहाँबाट ल्यायो भन्नेबारे अनुसन्धान भइरहेकोछ । बालकलाई हिरासतमा राखिएको छ ।
चिनियाँ रक्षामन्त्री र तुर्कमेनका समकक्षी बीच भेटवार्ता
चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री वेइ फेङहेले शुक्रबार बेइजिङमा तुर्कमेनका रक्षामन्त्री बेगेन्च गुन्डोग्दियेभसँग भेटवार्ता गरेका छन् ।
चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र तुर्कमेनका राष्ट्रपति सेरदार बेर्दिमुहामेदोभ बीच शुक्रबार भएको वार्तामा चीन-तुर्कमेनिस्तान सम्बन्धको नयाँ युगको रूपमा चीन र तुर्कमेनिस्तानबीच व्यापक रणनीतिक साझेदारीको घोषणा गरेको मन्त्री वेईले बताएका छन् ।
चीनले तुर्कमेनिस्तानसँग दुई देशका सेनाबीचको रणनीतिक सञ्चारलाई निरन्तरता दिन, व्यावहारिक सहयोगलाई अझ गहिरो र विस्तार गर्न र साझा भविष्यका साथ चीन-तुर्कमेनिस्तानको आपसी सद्भाव थप बलियो बनाउँन तयार रहेको पनि बताएका छन् । त्यस्तै गुन्डोग्देयेभले तुर्कमेनिस्तानले चीनसँग विभिन्न गतिविधि आदानप्रदान गर्दै आपसी सम्बन्ध थप सुदृढ गर्न र सुरक्षा सहयोगलाई अझ गहिरो बनाउन एवं दुई देशको साझा हित, क्षेत्रीय शान्ति र विकासको रक्षा गर्न इच्छुक रहेको बताएका छन् ।