जापानमा हिमपातका कारण १७ जनाको मृत्यु

रामेछाप खबर संवाददाता

११ पुस,टोकियो ।

जापानको ठूलो क्षेत्रमा १० दिनयता परेको भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ जापानी अधिकारीले सोमबार बताएका छन् । हिमपातका कारण हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ । देशको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा हालैका दिनहरूमा लगातार भारी हिमपात भइरहेको छभने सोमबारदेखि बाक्लो हिमपात कम हुने अनुमान गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी शहरसहित केही क्षेत्रमा २४ घण्टामा झण्डै एक मिटर हिमपात भएको छ ।
भारी हिमपातका कारण कारहरू सडकमा अड्किएपछि जापानको मौसमविज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएको छ ।

सरकारी अधिकारीहरुले गत डिसेम्बर १७ देखि अहिलेसम्म हिमपातका कारण १७ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको बताएका छन् ।
राष्ट्रिय टेलिभिजन प्रसारक (एनएचके)का अनुसार मृतकमध्ये हिउँ सफा गर्ने क्रममा छतबाट खसेका एक पुरुष र कारमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण मृत फेला परेकी एक महिला पनि रहेका छन् ।

होक्काइदोमा हिउँका कारण हालैका दिनहरूमा दशौँ हजार घरहरूमा विद्युतका लाइनहरू ढलेका छन्, यद्यपि अधिकांश जडानहरू अहिले पुन ः स््थापित भएका छन् ।

युक्रेनी ड्रोन रूसी हवाई शिविरमा खसालियो, तीन जनाको मृत्यु
रूसी हवाई सुरक्षा फौजले युक्रेनको एउटा ड्रोन दक्षिणी रूसको एक हवाई शिविरनजिक पुगेपछि रूसले खसालेको रूसी समाचार संस्थाहरूले सोमबार बताएका छन् । उक्त घटनामा तीन जना रूसी प्राविधिकको मृत्यु भएको रूसले जनाएको छ । यो महिना एङ्गेल्सको शिविरमा भएको यो दोस्रो आक्रमण हो । एङ्गेल्स, दक्षिणी सारातोभ क्षेत्रमा, युक्रेनबाट ६०० किलोमिटर (३७० माइल) भन्दा बढी दूरीमा अवस्थित छ ।

“डिसेम्बर २६ मा मस्को स्थानीय समयअनुसार १ः३५ बजे सारातोभ क्षेत्रमा रहेको एङ्गेल्स सैन्य एयरफिल्डनजिक पुग्ने क्रममा युक्रेनी मानवरहित हवाई यानलाई कम उचाईमा गोली हानी खसालिएको थियो,” रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रूसी समाचार संस्था ( तास) ले उल्लेख गरेको छ ।

“ड्रोनको भग्नावशेष खसेपछि हवाई क्षेत्रमा रहेका तीन जना रूसी प्राविधिक सैनिक गम्भीर घाइते भएका छन्,” उहाँले भन्नुभयो । घाइते तीनै जनाको निधन भइसकेको छ । डिसेम्बर ५ मा मस्कोले युक्रेनी ड्रोनले एङ्गेल्स आधारशिवर र रयाजान क्षेत्रमा रहेको अर्को शिविरमा विस्फोट गराएको बताएको थियो । रक्षा मन्त्रालयले कुनै पनि विमानमा क्षति नपुगेको तासले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेका थिए ।