माघमा ६४ हजार बढीले लिए श्रम स्वीकृति, पहिलो रोजाइमा मलेसिया

रामेछाप खबर संवाददाता

११ फागुन, काठमाडौं ।

गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार ४४७ पुरुष र पाँच हजार ८३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । यो संख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो ।

यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३९ हजार १२४ जना रहेको छ । जसमा चार हजार २६६ जना महिला र ३४ हजार ८५८ जना पुरुष रहेको विभागले जनाएको छ । जसमा सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको संख्या १९ हजार ७८३ जना रहेको छ ।

कतार जानका लागि १२ हजार ७०४ जना, साउदीका लागि १० हजार ५७६ जना, युएईका लागि नौ हजार ७७० जना र कुवेतका लागि दुई हजार ९९२ जनाले श्रम स्वीकृति लिएका छन् । साइप्रसका लागि ४१७ जनाले, क्रोएसियाका लागि ४७१ जनाले, जापानका लागि ८८२ जनाले, माल्टाका लागि २७० जनाले, पोल्याण्डका लागि ७२० जनाले, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि आठ सय चार जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।