मलेसियामा नेपाली दूतावासले सुरु गर्‍याे ‘श्रमिकका लागि घुम्ती सेवा’

रामेछाप खबर संवाददाता

१ मंसिर, काठमाडौं ।

मलेसियास्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ। नेपाली श्रमिकहरू कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए। बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरेका थिए।

गैरआवासीय नेपाली संघलगायत नेपाली संघ संस्थाहरूसँगको सहकार्यमा घुम्ती सेवा संचालन गरिएको हो। एक हजारभन्दा धैरे नेपाली उपस्थित भएको कार्यक्रममा २ सय ८० जना श्रमिकले राहदानी सम्बन्धी सेवा लिएका थिए। घुम्ती सेवामा राहदानी सम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरू प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ।

घुम्ती सेवा उद्घाटनका क्रममा राजदुत पौडेलले नेपाली श्रमिकहरू कार्यरत कम्पनीहरूको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकहरूसँग अन्तर्क्रिया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफलसमेत गरेका थिए। सुरक्षा गार्ड तथा सरसफाइसम्बन्धी कम्पनीहरूमा कार्यरत नेपाली श्रमिकहरूको गुनासो आएपछी उनले सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन्।