१८ पुस, काठमाडौं ।
चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका छन् ।
राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर रु १४ ले किसानले पाउने गरी दूधको मूल्य बढाउनुपर्ने बताउनुभयो । दाना चोकर र परालको मूल्यवृद्धिका कारण किसानको लागतसमेत उठ्ने अवस्था नरहेको भन्दै उहाँले दूधको मूल्य बढ्न नसके किसान पलायन हुने अवस्था आउने बताउनुभयो । उहाँले किसान परिचयपत्रको व्यवस्था र आवश्यकअनुसारको अनुदानको व्यवस्था गर्न माग गर्नुभयो ।
“कृषि तथा दुग्ध सहकारीको तथा व्यावसायिक फार्मको भौतिक पूर्वाधारमा राज्यले ८० प्रतिशत अनुदान दिनुपर्छ”, उहाँले भन्नुभयो, “कृषि कर्जालाई थप व्यवस्थित बनाउनुपर्छ ।” कृषक समाजका सल्लाहकार भगीरथ तिमल्सिनाले दूधको मूल्य राम्रो नभएको र किसानले नाफा अनुदान नपाएकै कारण पशुपालन धरासायी बन्दै गएको बताउनुभयो । राज्यकै नीतिका कारण किसान दिनप्रतिदिन विदेश पलायन भइरहेको उहाँको भनाइ छ । नेपालमा २२ लाख घर परिवार दूध उत्पादन गरेर आत्मनिर्भर बनेको समाजले जनाएको छ ।
होटल व्यवसायी महासङ्घको महाधिवेशन चितवनमा
होटल व्यवसायी महासङ्घको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ । महासङ्घका अध्यक्ष हीराध्वज शाहले यही पुस १९ र २० गते भरतपुरमा सम्मेलन गर्ने जानकारी दिनुभयो । महासङ्घले समग्र व्यवसायलाई नै पर्यटनमैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकाले सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरिएको छ । सम्मेलनमा देशभरका प्रदेश सङ्घ, जिल्ला सङ्घ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीको प्रतिनिधित्व गर्दै करिब सात सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने उहाँले बताउनुभयो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले कोरोना तथा आर्थिकमन्दीको कारणले २० देखि ३० प्रतिशत व्यवसायी पलायन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नारायणगढ बजारमा पनि अधिकांश सटर अहिले बन्द भएका छन् । व्यवसायमा पूरै मन्दी आएको छ । सम्मेलनले व्यवसाय क्षेत्रमा केही आशाको सञ्चार गर्नेछ ।” सम्मेलनमा पर्यटनसम्बन्धी विभिन्न प्रस्तुति र कार्यशाला पनि हुने उपाध्यक्ष चुकेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सम्मेलनबाट भरतपुर महानगरको पर्यटकीय गतिविधि चलायमान पनि हुनेछ ।” विसं २०६७ मा स्थापना भएको होटल व्यवसायी सङ्घको पहिलो महाधिवेशन पनि चितवनमा नै भएको थियो ।
यसपटक हुने चौथो महाअधिवेशन तथा दशौँ वार्षिक साधारणसभा उद्घाटन अघि भरतपुरको चौबीस कोठीबाट उद्घाटनस्थलसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको प्रभात फेरी गरिने छ ।