वेल्डिङ कम्पनीमा विस्फोट हुँदा दुई जनाको मृत्यु, तीन घाइते

रामेछाप खबर संवाददाता

१० फागुन,वासिङ्टन ।

फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा मङ्गलबार भएको विस्फोट र आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

मियामीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । दुर्घटनाको छानविन भइरहेको मियामी डेड प्रहरी विभागले जनाएको छ । गत सोमबार ओहायो राज्यको बेडफोर्डस्थित धातु उत्पादन कारखाना विस्फोटको एक दिनपछि उक्त दुर्घटना भएको हो ।

सोमबारको विस्फोटमा एक जनाको मृत्यु भएको थियोभने १३ जना घाइते भएका थिए । विस्फोटबाट सुम्यानको भौतिक संरचनामा व्यापक क्षति हुनाका साथै बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो ।

‘रुसले युक्रेनलाई कहिल्यै जित्न सक्दैन’
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनलाई कहिल्यै जित्न नसक्ने दाबी गर्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण जारी रहने बताएको केही घण्टापछि वार्सामा यहाँ भाषण गर्दै अमेरिकी राष्ट्रपतिले युक्रेन युद्धमा रुसको कहिल्यै विजय नहुने दाबी गर्नुभयो ।

युक्रेनप्रति संयुक्त राज्य अमेरिका र उसका साझेदारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले रुसी राष्ट्रपतिको आरोपको खण्डन गर्नुभयो । रुसका राष्ट्रपति पुटिनले युक्रेनमा एक वर्षदेखि जारी युद्धका लागि अमेरिकासहित पश्चिमा राष्ट्रहरूलाई दोष दिनुभएको थियो । उहाँले आफू पुटिनजस्तो निरङ्कुश एवम् कठोर नभएको पनि बताउनुभयो ।

रुसी संसद्मा उहाँले युक्रेनलाई पश्चिमा राष्ट्रहरूले ‘रुसविरोधी’ बनाउने प्रयास आरोप लगाउँदै आफ्नो देशको अस्तित्व जोखिममा परेको बताउनुभयो । सम्बोधनका क्रममा उहाँले अमेरिकासँगको आणविक हतियार सन्धिमा सहभागी नहुने घोषणा पनि गर्नुभएको थियो । रुसी राष्ट्रपतिले आफ्नो देशमाथि लादिएो प्रतिबन्ध सफल नहुने बताउँदै आफ्नो देशले व्यवस्थित रूपमा आफ्नो उद्देश्य प्राप्त गर्न युद्ध निरन्तर हुने वाचा गर्नुभएको थियो ।

किएभको अप्रत्यासित भ्रमण गरेर यहाँ आउनुभएका अमेरिकी राष्ट्रपतिले पश्चिमा मुलुकले रुसमाथि आक्रमण गर्ने कुनै योजना नबनाएको पनि स्पष्ट गर्नुभयो । रुसी राष्ट्रपतिले आफ्नो देशमाथि अमेरिकासहितका पश्चिमा देशले आक्रमण गर्ने योजना बनाएका आरोपको खण्डन गर्दै अमेरिकी राष्ट्रपतिले त्यसो भन्नुभएको हो । रुसी र अमेरिकी राष्ट्रपतिका भाषण एकअर्काविरुद्ध वाक्युद्ध थिए ।

त्यसअघि राष्ट्रपति बाइडेनलेपोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेटेर आफ्नो भ्रमण संवेदनशील क्षणमा भएको बताउँदै उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को सामूहिक रक्षाको सिद्धान्तप्रति वासिङ्गटनको प्रतिबद्धता दोहो¥याउनुभयो ।