बिश्वकप फुटबलको रौनक : सडकमै देखाइँदै फाइनल खेल

रामेछाप खबर संवाददाता

३ पुस, काठमाडौं ।

विश्वकप फुटबलको आज राति हुने फाइनल खेल पोखरामा सडकमै ठूलो पर्दामा देखाइने भएको छ । पृथ्वीचोक र हल्लनचोकमा परिचय एड्भटाइजिङ र एपीआई मिडियाको विज्ञापन गर्ने एलइडी बोर्डमा खेल देखाइने भएको हो । पोखरा महानगरपालिका र ती दुई विज्ञापन कम्पनीले खेल देखाउन सहकार्य गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने भीड बढी हुँदा जोखिम हुने भन्दै महानगरले खेल देखाउन सहमति दिएकोमा असन्तुष्टि जनाएको छ । महानगरपालिकाले आवागमनमा कुनै अवरोध नहुने गरी फाइनल हेर्ने व्यवस्था मिलाउन भनेको छ ।

‘ठूलो पर्दामा खेल हेर्न चाहनुहुने खेल प्रेमी पोखरेली दर्शक महानुभावहरूका लागि यो एक अवसरका रूपमा हामीले लिएका छौँ,’ महानगरपालिकाले फेसबुकमार्फत जारी गरेको सूचनामा भनिएको छ, ‘साथै उक्त समयमा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरिसकेकाले सवारी आवागमनमा कुनै अवरोध नहुने गरी फुटबलको फाइनल हेर्ने कार्यमा आवश्यक सहजीकरण गरिदिनु हुन अनुरोध छ ।’ आज राति पौने ९ बजे हुने फाइनलमा अर्जेन्टिना र फ्रान्स खेल्दै छन् ।

रोनाल्डिन्हो भन्छन्– मेसी ५० वर्षसम्म पनि फुटबल खेल्न सक्छन्
ब्राजिलियन ‘लेजेन्ड’ रोनाल्डिन्होले अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ५० वर्षको उमेरसम्म खेल्न सक्ने बताएका छन् । कतारमा जारी फिफा विश्वकपमा आज अर्जेन्टिनाले साविक विजेता फ्रान्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ । जसमा अर्जेन्टिना ३५ वर्षीय मेसीको कप्तानीमा मैदान उत्रिनेछ । आफ्नो करियरमा पहिलो विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेका मेसीले जारी प्रतियोगितामा पाँच गोल गरिसकेका छन् ।

पाँच गोल र तीन असिस्टसहित विश्वकपमा उच्च लयमा देखिएका मेसी आजको खेलमा अर्जेन्टिनालाई जित दिलाए अर्जेन्टिना ३६ वर्षपछि विश्वविजेता बन्नेछ । आफ्ना पूर्व सहकर्मीको उत्कृष्ट प्रदर्शनसहित अर्जेन्टिनालाई फाइनल पुर्‍याएपछि रोनाल्डिन्होले मेसीले ५० वर्षसम्म फुटबल खेल्न सक्ने प्रतिक्रिया दिएका हुन् । सन् २००३ देखि २००८ सम्म बार्सिलोनामा रहँदा रोनाल्डिन्हो र मेसीले एकसाथ खेलेका थिए ।

“उनी धेरै वर्ष पहिलेदेखि नै आफूलाई विश्वकै उत्कृष्ट खेलाडीको रूपमा उभ्याएका छन् । यो उनको अन्तिम विश्वकप हो । र, उनले यसपटक उपाधि जित्ने मेरो विश्वास छ,” रोनाल्डिन्होले भने, “मेरा लागि मेसीसँग अन्य खेलाडीको तुलनामा अधिक क्षमता छ र उनी ५० वर्षको हुँदा पनि खेल्न सक्छन् ।” रोनाल्डिन्हो आफैँपनि ब्राजिलका लागि विश्वकपको उपाधि जित्ने टिमका सदस्य हुन् । सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा रोनाल्डिन्हो टिमका प्रमुख सदस्य थिए ।