अञ्जनले जिते वर्ष पुरुष खेलाडीको अवार्ड

रामेछाप खबर संवाददाता

२३ फागुन, काठमाडौं ।

फुटबलका अञ्जन विष्टले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित १९ औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको विशेष समारोहमा फुटबलका विष्टलाई वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी अवार्ड हस्तान्तरण गरिएको हो ।

क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै विष्टले वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन् ।

अवार्ड जितेपछि आफूलाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विष्टले यो अवार्डले अगाडि बढ्न थप मद्दत पुग्ने बताए । अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलोपटक फाइनलमा पुर्‍याउनमा महत्त्वपूर्ण गोल गरेका थिए ।

विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइविरुद्ध गोल गरेका अञ्जनले १३औँ साफ च्याम्पियनसिपमा श्रीलंका र बंगलादेशविरुद्ध पनि गोल गरेका थिए । अञ्जन एनएसएल लिगमा सर्वश्रेष्ठ फरवार्ड चुनिएका थिए । अवार्डसँगै अञ्जनले बजाज पल्सर मोटरसाइकल प्राप्त गरेका छन् ।