पहिलो दिन विश्वभरबाट ‘प्रेमगीत ३’ ले कति कमायो ?

रामेछाप खबर संवाददाता

९ असोज, काठमाडौं ।

सन्तोष सेनले निर्माण तथा निर्देशन गरेको फिल्म ‘प्रेमगीत ३’ नेपाली र हिन्दी संस्करणमा गत शुक्रबारदेखि विश्वव्यापी रूपमा प्रदर्शन भइरहेको छ।
विश्वभर १२ सय स्क्रिनमा प्रदर्शन भएको फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको छ। फिल्मले पहिलो दिन विश्वभरबाट ७ करोड ७५ लाख रुपैयाँभन्दा बढी कमाएको वितरक मनाेज राठीले बताए।

निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मले विश्वभरबाट भारू ४ करोड ८४ लाख (नेपालीमा ७ करोड ७५ लाख बढी) कमाएको तथ्यांक निकालेका छन्। वितरक गोविन्द शाहीका अनुसार फिल्मले नेपालमा २ करोड ५० हजार कमाएको छ। त्यस्तै भारतमा सीमित शो र कम टिकटदरको बाबजुद फिल्मले १ करोड ४७ लाख (९२ लाख भारू) कमाएको भारतीय ट्रेड विश्लेषक तरण आदर्शले ट्वीटरमार्फत जानकारी दिएका छन्। भारतमा ‘प्रेमगीत ३’ टिकटदर ७५ रूपैयाँ छ।

फिल्मले अमेरिकामा ३० हजार १२ डलर (नेरू ३९ लाख बढी), क्यानडामा ३ हजार ८७८ डलर (नेरू ५ लाख बढी), बेलायतमा १ हजार ५७५ यूराे (नेरू २ लाख), अष्ट्रेलियामा ५६ हजार ८९५ अष्ट्रेलियन डलर (नेरू ४८ लाख बढी) कमाइ गरेको छ। यसबाहेक अरु विभिन्न ठाउँमा गरी कुल ७ करोड ७५ लाख कमाएकाे निर्माण टिमले जनाएकाे छ।

नेपाली फिल्म पहिलो पटक हिन्दी संस्करणमा प्रदर्शन भएको हो। नेपालमा यसको हिन्दी संस्करण सोमबारदेखि प्रदर्शन हुँदैछ। फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्। प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।
साभार : सेतोपाटी