इन्डोनेसियामा श्रीमतीसंग रमाउदै मेयर बालेन शाह

रामेछाप खबर संवाददाता

काठमाडौँ।

शुक्रबारबाट सुरु हुने पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइन प्रवेश गरेका दुई नेपाली टोलीको हौसला बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नीसहित इन्डोनेसियाको जकार्ता पुगेका छन् ।

आफ्नो फेसबुक पेजमा एक पोस्टसमेत गरेर नेपाली टोलीहरु डीआरएस गेमिङ र टीटुके समूहलाई शुभकामना दिएका उनले नेपाली टोलीको प्रदर्शनको बारेमा निरन्तर लेख्ने गरेका छन् ।
बालेनबारे जानकार स्रोतका अनुसार उनले प्रतियोगतामा सहभागी हुन जाने टोलीहरुलाई विदाई समेत गरेका थिए ।

यसअघि मेयर निर्वाचित भएपछि बालेनको नेतृत्वमा महानगरपालिकाले आफ्नो कार्यक्रममा ई–स्पोर्टस्‌सँग सम्बन्धित गतिविधि र प्रतियोगिताको सहयोगका लागि बजेट विनियोजन गरेपछि उनको ई स्पोर्टस्‌प्रतिको लगाव चर्चाको विषय बनेको थियो ।

यस विषयमा जिज्ञासा राख्दा महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मेयरको भ्रमण अनौपचारिक भएकाले विस्तृतमा थाहा नभएको बताए । साथै, उनले ई स्पोर्टस् प्रवर्द्धनको लागि बजेट विनियोजन भएको भए पनि अहिलेसम्म खर्च भइनसकेको जानकारी दिए ।

जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजना हुने तीन दिने यो ग्र्यान्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । सो टिममा चीनका ३,

ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाइल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका एक एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।