२४ पुस,कोलोराडो ।
अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ। तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राति एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। उनी सन् २०१४ मा डिभी परेर अमेरिका पुगेका थिए।
५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा केही पर पक्राउ परेका हुन्। सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ। सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ। चार सन्तानका बाबु भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको बताइएको छ।
सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु,९० व्यक्ति घाइते
मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ३८ जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार बसमा गरी कम्तीमा १२५ जनाभन्दा बढी यात्रु रहेका थिए ।
“यो एक गम्भीर दुर्घटनामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्य करिब ९० जना घाइते भएका छन्,” पश्चिम अफ्रिकी देश सेनेगलका अग्नि नियन्त्रक चेख फलले भन्नुभयो । स्थानीय समयअनुसार आइतबार बिहान ३ः१५ बजे राष्ट्रिय राजमार्गमा भएको दुर्घटनापछि सबै पीडितलाई काफ्रिन अस्पताल र मेडिकल सेन्टरमा लगिएको उहाँले बताउनुभयो ।
भग्नावशेष र भत्किएका बसहरू हटाइसकिएको र सामान्य यातायात सुचारु भएको उहाँले बताउनुभयो । गभर्नर र स्थानीय अधिकारीहरूले घटनास्थलको भ्रमण गरेको उहाँले बताउनुभयो । सेनेगलमा चालकको अनुशासनहीनता, कमजोर सडक र जीर्ण सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको विज्ञहरूले बताएका छन् । यद्यपि यो हालैका वर्षहरूमा एउटै सडक दुर्घटनामा भएको सबैभन्दा धेरै मृत्यु सङ्ख्या हो ।