दशैकालागि खसी-बोका किन्दै हुनुहुन्छ ? यसरी चिन्नुहोस स्वास्थ्यकर खसी-बोका

रामेछाप खबर संवाददाता

११ असोज, काठमाडौं ।

सरकारले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खसी बोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा आजदेखि खसी बोकाको स्वास्थ्य परीक्षण सुरु गरिएको पशु सेवा विभागले जनाएको छ ।

उपत्यका बाहिरबाट अस्वस्थ खसी बोका पनि बिक्रीका लागि ल्याइने भएकाले उपभोक्ताको हितलाई ध्यानमा राखी बिहानै देखि परीक्षणका लागि टोली खटिएको विभागका चिकित्सक डा. चिरञ्जीवी पन्तले हलोखबरलाई जानकारी दिए । उनका अनुसार खसी बोकाको स्वास्थ्य परीक्षण असोज १८ गते (नवमी) सम्म हुने छ ।

खसिबोका आयात हुने मुख्य नाका र कारोबार हुने ठाउँमा स्वास्थ्य परीक्षण गरी स्टिकर लगाइनेछ । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ । कलंकी खसी बजार, बल्खु, धापाखेल खसी बजार, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, सुकेधारा, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।

परिक्ष्णमा पशु सेवा विभाग, पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय, भेटेरिनरी जनस्वास्थ्य कार्यालय, केन्द्रीय पशु क्वारेन्टाइन कार्यालय, महानगरपालिका र केन्द्रीय पशु चिकित्सालयको संयुक्त आयोजनामा विभिन्न स्थानमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरिएको उनले बताए । उनका अनुसार उक्त स्वास्थ्य परीक्षणमा ५३ जना पशु चिकित्सकहरु खटिएका छन् ।

दशैँमा उपभोक्ताको स्वास्थ्यमा नै असर पर्ने अस्वस्थकर खसीबोका कारोबार हुन सक्ने भएकाले विभागले हरेक वर्ष स्वास्थ्य परीक्षण गर्ने गरेको छ । यसवर्षको दशैँमा काठमाडौँ उपत्यकामा ६० हजार भन्दा बढि खसीबोका खपत हुने अनुुमान छ । गएको वर्ष ५० हजारको हाराहारीमा खपत भएको थियो ।
व्यवसायीले जाजरकोट, सल्यान, बैतडी, डडेल्धुरा, अछाम, नेपालगञ्ज, गुल्मी, पाल्पा, झापा, इलाम, ओखलढुङ्गालगायतका जिल्लाबाट खरिद गरी काठमाण्डौ उपत्यकामा ल्याएर खसीबोका बिक्री गर्छन् । यस्तै भारतको लखनउ, हरियाणा, राजस्थानबाट पनि खसी आउने गरेको छ ।

दशैँको सप्तमी, अष्टमी र नवमीमा सबैभन्दा धेरै सङ्ख्यामा खसीबोका, भेडाच्याङग्रा बिक्री हुने विभागले जनाएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा पारिवारिक जमघट सुरु भइसकेको छ । दसैँमा अन्य समयको तुलनामा बढी मासुको खपत हुने गरेको छ । विशेषगरि दसैँमा खसी, बोका र च्याङ्ग्राको बलि दिएर मासु खाने प्रचलन छ । धेरैले घरमै खसी, बोका, च्याङ्ग्रा, भेडा आदि काटेर मासु खाने गरेका छन् ।

दसैँमा कस्तो खसी–बोका छनोट गर्ने ?
काठमाडौँ उपत्यकामा ल्याइने खसी बोकाको सिङमा नीलो र रातो रङ्ग लगाइएको हुन्छ । नीलो रङ्ग लगाइएका खसी स्वस्थ हुन् भने रातो रङ्ग लगाइएका अस्वस्थ हुन् । तपाईँ पनि खसी किन्दै हुनुहुन्छ भने सिङमा हरियो रङ लगाइएको खसी रोज्नुस् । त्यसो गर्नुभयो भने तपाईँले स्वस्थ खसी पाउनुहुने छ । खसी बोका उपत्यका भित्र्याउँदा विभिन्न स्वास्थ्य जाँच गरेरै ल्याइन्छ ।

तर कतिपय अस्वस्थ खसी बोका उपत्यका ल्याउँदा ल्याउँदै बाटोमै बिरामी हुने गर्छन् । उक्त कुरालाई मध्यनजर गर्दै उपभोक्ताले स्वस्थ खसी पाउन् भनेर विभागले खसी बोकाको स्वास्थ्य परीक्षण प्राविधिक टोली नै खटाएको छ । अनुगमन र स्वास्थ्य परीक्षणका लागि ५३ जना कर्मचारी खटाइएको विभागका प्रवक्ता डा.चन्द्र ढकालले बताए ।

खसीको स्वास्थ्य परीक्षण गर्दा आँखामा कचेरा, नाकमा सिँगान, ज्वरो छ कि छैन भनेर जाँच गरिन्छ । जाँच गर्दा सबै सामान्य भेटिए खसीको सिङमा हरियो रङ ‘स्प्रे’ गरिन्छ ।

जाँच गर्दा ज्वरो, आँखामा कचेरा, नाकमा सिँगान र पातलो दिसा देखिए खसीको सिङमा रातो रङ ‘स्प्रे’ गरिन्छ । अस्वस्थ खसी छ भने त्यस्ताका सिंगमा तुरुन्त रातो रङ लगाएर उपचार गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरिने पनि उनले बताए । साथै उनले खानकालागि मासु छनोट गर्दा कम बोसो भएको पशु छनोट गर्न पनि आग्रह गरे ।

‘सामान्यतया मासुमा अन्य खाद्य पदार्थको तुलनामा बढी क्यालोरी पाइन्छ । मानिसको शरीरको लागि बोसोजन्य खाना उपयुक्त हुँदैन । त्यसैले खसी–बोका रोज्दा कम बोसो भएको रोज्नुपर्छ,’ ढकालले भने । मोटो र ठूलो आकारको खसी–बोकामा सबैको आकर्षण देखिन्छ तर तुलनात्मक रूपमा त्यस्ता प्रकारका खसी–बोकाको मासु कम स्वस्थकर हुन्छ ।

‘हेर्दा ठिक्क पातलो, फुर्तिलो, शरीर चिल्लो देखिने र शरीर छाम्दा गाँठागुँठी नभएको खसी बोका मासुको लागि उपयुक्त हुन्छ । सामान्यतया यस्ता प्रकारका खसी बोका निरोगी र मासु खानको लागि उपयुक्त हुन्छ,’ उनले भने ।

त्यसै गरी उनले बोका छनोट गरिसकेपछि मासु तयार गर्दा पनि ध्यान दिनुपर्ने उनले बताए । ‘मासु पहेँलो देखिएमा, ग्रन्थिहरू सुन्निएको भेटिएमा, शरीर र पेटमा पानीको फोका बढी भेटिएमा त्यस्तो मासु प्रयोग गर्नु हुँदैन ।

डा. ढकालकाअनुसार कुनै पनि पशुपन्छीको टाउको, कलेजो, फोक्सो, आन्द्राभुँडी, रगत र खुट्टा प्रयोग गर्न उपयुक्त हुँदैन, प्रयोग गर्न नै परेमा तत्काल राम्रोसँग सफा गरेर प्रयोग गर्नुपर्छ ।