रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव आएको छैन : उपसभापति अर्याल

रामेछाप खबर संवाददाता

२२ वैशाख, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको भन्ने समाचारमा सत्यता नभएको रास्वपाका उपभासपति डीपी अर्यालले बताएका छन् ।

रास्वपाका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य डीपी अर्यालले रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव कसैले पनि नगरेको स्पष्ट पारेका छन् । बरु उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई पुरानो मन्त्रालय दिन तयार रहेको बताएका छन् ।
यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो । तर, लामिछानेको नागरिकता प्रकरणका कारण सरकारबाट बाहिरिएको रास्वपा पुनः सोही मन्त्रालयहरूसहित सरकारमा सहभागी हुने उनको सङ्केत छ ।

रवि लामिछानेले फेरि चुनाव जितेर आएपछि प्रचण्ड रास्वपालाई पुरानो मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न तयार भएको अर्यालको दाबी छ । तर, प्रचण्ड स्वयमले भने रास्वपाले भनेकै मन्त्रालयहरू अहिलेको अवस्थामा दिन नसकिने अभिव्यक्ति दिदै आएका छन् । यद्यपि, नीति कार्यक्रम भने पुनर्लेखन गर्न सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।