ताजा अपडेट : कांग्रेसले खाता खोल्यो, २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित

रामेछाप खबर संवाददाता

५ मंसिर, काठमाडौं ।

मुस्ताङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गरेका छन् ।

कर्णालीका तीन जिल्लामा मङ्गलबारसम्म मतपेटिका सङ्कलन हुने
कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा भोलि मङ्लबारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा आज बेलुका र रुकुम पश्चिममा दिउँसोसम्म मतपेटिका सङ्कलन हुने जानकारी दिनुभयो ।

माथिल्लो कर्णालीका तीन जिल्लाबाट आजै मतपेटिका जिल्ला आउने अवस्था नरहेको उहाँले जनाउनुभयो । “भौगोलिक विकटताका कारण सबै जिल्लाका मतपेटिका जिल्लामा आइपुगेका छैनन्,” प्रहरी नायब महानिरीक्षक पोखरेलले भन्नुभयो, “हुम्ला, मुगु, र डोल्पा जिल्लामा भोलिसम्म मतपेटिका जिल्लामा आइपुग्ने देखिन्छ । रुकुमपश्चिममा आज दिउँसोसम्म मतपेटिका आइपुग्दैछ ।” उहाँका अनुसार कर्णालीका सुर्खेत, जुम्ला र सल्यान, दैलेख र कालिकोटमा मतगणनाका लागि सर्वदलीय बैठक बस्दैछ । हुम्लाको उत्तरी भेग र डोल्पाको माथिल्लो क्षेत्रको मतपेटिका सङ्लनका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था छ । हुम्ला जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी श्याम रानाले नाम्खा गाउँपालिको हल्दीदाङ, तिल, सर्केगाड, चङ्गेली, ताँजाकोट र अदानचुली गाउँपालिकाबाट मतपेटिका आइनपुगेकाले हेलिकोप्टर माग गरिएको जानकारी दिनुभयो ।

डोल्पाका निर्वाचन अधिकारी रामबहादुर शाक्यले माथिल्लो डोल्पामा पर्ने छार्काताङ्सोङ से–फोक्सुन्डो, डोल्पोबुद्ध गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका हेलिकोप्टरबाट ल्याउने भनिए पनि अहिलेसम्म हेलिकोप्टर पुग्न नसकेको बताउनुभयो । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जिल्लाका सबै पालिकामा सडक नजोडिएकोले दुई दिनको बाटो हिँडेर मतपेटिका सदरमुकाम गमगढी ल्याउने काम भइरहेको उल्लेख गर्नुभयो । सबै पालिकाको मतपेटिका सदरमुकाम पुगेपछि भोलिदेखि मतगणना सुरु हुने उहाँले जनाउनुभयो । प्रजिअ महतकाअनुसार हुम्ला, डोल्पा र मुगुमा भोलिदेखि मात्र मतगणना हुनेछ ।