डेंगु लागेको कसरी थाहा पाउने ? यस्ता छन डेंगु लाग्दा ध्यान दिनुपर्ने कुराहरु

रामेछाप खबर संवाददाता

११ असोज, काठमाडौं ।

देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ । २०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन् । हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ । नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका थिए । त्यसपछि वर्षेनी डेंगुका बिरामी नेपालमा देखिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेश प्रदेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदुरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु देखिएको छ । डेंगु सार्ने लामुखट्टेले संक्रमित व्यक्तिलाई टोकेर अन्य व्यक्तिलाई टोकेको खण्डमा यो रोग सजिलै सर्ने हुँदा सजग रहन अनुरोध छ ।

डेंगु लागेको कसरी थाहा पाउने ?
यदि तपाई डेंगु प्रभावित क्षेत्रमा हुनुहुन्छ र ज्वरो आएको छ भने तपाईंलाई डेंगु भएको हुनसक्छ । त्यसैले निरन्तर उच्च ज्वरो आइरहेको छ । तर त्यसमा भाइरल इन्फ्लुयन्जा अथवा रुघाखोकीको कुनै लक्षण देखा परेको छैन भने एकपटक डेंगुको जाँच गर्नु उपर्युक्त हुन्छ । उच्च ज्वरो आउने, खान मन नलाग्ने, जीउ गल्ने, शरीरमा विमिरा आउने, शरीरका विभिन्न भागबाट रगत बग्ने डेंगु रोगको लक्षण हुन् ।

कसरी बच्ने ?
डेंगु लामुखट्टेबाट सर्ने रोग भएकोले लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ । डेंगु सार्ने लामखुट्टेले दिउँसोको समयमा बढी टोक्ने हुँदा शरीर ढाक्ने पुरा बाहुला भएको लुगा लगाउनुपर्दछ । घरमा सुत्दा झुलको प्रयोग गर्ने र शरीरमा ओडोमस लगायतका क्रिम शरीरमा लगाउँदा पनि लामखुट्टेले टोक्दैन । यसका साथै घर वरपर पानी जम्ने खाल्डा खुल्डी छन् भने पुर्ने, घर वरिपरि पानी जम्न नदिने र सरसफाइ गर्ने, सकेसम्म प्लाष्टिकका भाँडाहरुको प्रयोग गर्नु हुँदैन । प्लास्टिकका भाँडामा लामखुट्टे वृद्धि हुन सम्भावना बढी रहन्छ ।

डेंगु लाग्दा ध्यान दिनुपर्ने कुरा
डेंगु रोग लाग्यो र समयमै उपचार भएन भने मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले ज्वरो आउनासाथ वा डेंगु लागेको शंका लागेमा स्वास्थ्य जाँच गराइहाल्नुपर्छ । डेंगु लागेको मानिसलाई ज्वरो कम भएपनि अस्पतालबाट घर फर्काउनु हुँदैन । किनकी ज्वरो घटेको ४८ घण्टासम्म पनि अवस्था जोखिमपूर्ण नै हुने भएकाले विरामीलाई चिकित्सकको निगरानीमा राख्नु नै उचित हुन्छ ।