मलेसियामा मृत्युदण्ड सजाए पाउने भनिएका एक नेपालीले १२ वर्ष जेल बस्नुपर्ने

रामेछाप खबर संवाददाता

२३ भदौ, काठमाडौं ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ । मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले आज धनुषाको गोविन्दपुर–२ का सुरज देव साह तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाएको हो । मलेसियास्थित नेपाली दूतावासका अनुसार तेलीलाई कर्तव्यज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा मलेसियन प्रहरीले पक्राउ गरेको थियो ।

सो मुद्दामा इपो उच्च अदालतले सन् २०२० अगष्टमा उनलाई मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसपछि तेली फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा पुनरावेदनमा गएका थिए । पुत्रजयस्थित पुनरावेदन अदालतले आज तेलीको कसूरलाई मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गरी बाह्र वर्ष जेल सजाय कायम गरेको नेपाली दूतावासले जनाएको छ । ‘सोही बमोजिम सुरज देव साह तेली बाँकी सजाय सकिएपश्चात नेपाल फर्कनुहुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

थप समाचार..मलेसिया पहिलो श्रम गन्तव्य
चालू आर्थिक वर्षको डेढ महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश मलेसिया भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँका अनुसार साउनदेखि भदौ महिनाको १५ गतेसम्म श्रम स्वीकृति लिएका ३५ हजारमध्ये १७ हजारले लगभग मलेसियाका लागि मात्रै लिएका छन् । साउन महिनामा ६५ देशमा जान वैदेशिक रोजगारीका लागि कुल ६३ हजार जनाले श्रम स्वीकृति लिएकोमा मलेसिया जान मात्रै २५ हजारले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

काठमाडौँ वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली श्रमिकको आकर्षण मलेसियातर्फ बढेको बताउनुभयो । चालू आर्थिक वर्षको साउन महिनाको तुलनामा भदौ १५ गतेसम्म अझै बढेको छ । उहाँका अनुसार साउन महिना ६५ देशका लागि ६३ हजारले श्रमस्वीकृति लिनेकोमा करिब ४० प्रतिशतले मलेसियाका लागि लिएका थिए भने भदौ १५ गतेसम्म ३५ हजार जनाले श्रम स्वीकृति लिएकोमा लगभग ४९ प्रतिशतले मलेसियाका लागि मात्रै लिएका छन् ।

मलेसियाका रोजगारदाताले श्रमिकलाई पारिश्रमिकबाहेक अन्य सेवा–सुविधामा पनि लचकता देखाएपछि नेपाली श्रमिकको रोजाइमा मलेसिया पर्न थालेको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले बताउनुभयो । मलेसियाली सरकारले गत मार्चदेखि आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय रिङ्गेट (४३ हजार रुपियाँ) पु-याएको छ । विभागका महानिर्देशक आचार्यले पारिश्रमिकका साथमा बस्नका लागि होस्टल, खानका लागि थप रकम, अतिरिक्त कामको पनि सुविधा दिन थालेपछि मलेसिया धेरैको रोजाइमा पर्न थालेको बताउनुभयो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका संयोजक विमल ढकालले खाडी मुलुकभन्दा तुलनात्मक रूपमा मलेसियाको हावापानी नेपालसँग मिल्दोजुल्दो भएकाले पनि नेपाली श्रमिकका लागि मलेसिया अनुकूल देखिएको बताउनुभयो । विभागका अनुसार आव २०७८/७९ को साउन महिनामा झन्डै ३० हजारले श्रम स्वीकृति लिएकोमा पहिलो श्रम गन्तव्य मुलुुक साउदी अरब थियो । चालू आर्थिक वर्षको डेढ महिनामा साउदी अरब चौथो स्थानमा पुगेको छ । झन्डै दुई वर्ष बन्द भएको मलेसियाको रोजगारी गत २०७८ फागुनदेखि खुला भएको हो । विभागका अनुसार कोभिड–१९ सुरु भएपछि सरकारले २०७६ चैतदेखि सबै मुलुकका लागि श्रम स्वीकृति बन्द गरेको थियो ।

नेपालमा कोभिड–१९ महामारी सुरु हुँदा मलेसियामा प्रभाव सामान्य थियो । तर, मलेसियामा पनि कोभिड तीव्र रूपमा फैलिएपछि मलेसियाले सबै मुलुकका आप्रवास श्रमिकका लागि प्रवेश बन्द गरिदियो । २०७८ साल कात्तिकदेखि मलेसियाली सरकारले आप्रवासी श्रमिकका लागि खुला गरे पनि फागुनदेखि मात्रै नेपाली श्रमिकले मलेसियाका लागि श्रम स्वीकृति लिन थालेका हुन् ।