महिला शिक्षिकालाई पेट्रोल छर्केर जिउँदै जलाइयो, उपचारका क्रममा मृत्यु !

रामेछाप खबर संवाददाता

२ भदौ, काठमाडौं ।

भारतको राजस्थानमा एक दलित महिला शिक्षिकालाई केही व्यक्तिले जिउँदै जलाएका छन्। विद्यालय जान लागेकी ती शिक्षिकालाई एक समूहले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन्। आगलागीबाट नराम्ररी जलेकी शिक्षकाको अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

करिब ७ दिन अगाडि भएको यो घटनाको भिडियो बुधबार सार्वजनिक भएको थियो। प्रहरीका अनुसार यो घटना अगस्ट १० मा जयपुरबाट ८० किलोमिटर टाढा रहेको रायसर गाउँमा भएको हो। बिहान ८ बजे रेगरौनस्थित वीणा मेमोरियल स्कुलकी ३२ वर्षिया शिक्षिका अनिता रेगर आफ्नो ६ वर्षे छोरा राजवीरसँग विद्यालय जाँदै थिइन्।

त्यहीँ क्रममा उनलाई केही व्यक्तिले घेरेर आक्रमण गरेका थिए। आक्रमणकारीबाट बच्न उनी नजिकै रहेको कालुराम रेगरको घरमा पसेकी थिइन्। त्यहीँबाट प्रहरीलाई खबर गरे पनि समयमा प्रहरी घटनास्थल पुग्न नसक्दा त्यो समूहले उनीमाथि पेट्रोल छर्केर आगो लगाइदिएको थियो। सहयोगको अपिल गर्दै ती महिला चिच्याइरहे पनि उनलाई कसैले सहयोग नगरेको परिवारको आरोप छ।

घटनाको जानकारी पाएर ती महिलाका श्रीमान ताराचन्द र परिवारका केही सदस्यहरू घटनास्थल पुगेका थिए। त्यसपछि उनीहरूले तत्कालै अनितालाई जामवरमगढको सरकारी अस्पतालमा भर्ना गराएका थिए। शरीरको ७० प्रतिशत भाग जलेर गम्भीर घाइते भएकी उनलाई थप उपचारका लागि त्यहाँबाट एसएमएस अस्पताल, जयपुरको बर्नवार्डमा रिफर गरिएको थियो। तर उपचारकै क्रममा ७ दिनपछि उनको मृत्यु भएको थियो।

हिन्दुस्तान टाइम्सका अनुसार अनिताले आक्रमणकारीलाई साढे २ लाख रूपैयाँ सापटी दिएकी थिइन्। लामो समयसम्म पनि उनीहरूले पैसा फिर्ता नगर्दा उनले आफ्ना पैसा फिर्ता गर्न बारम्बार आग्रह गर्दै आएकी थिइन्। तर पैसा फिर्ता दिनुको साटो उनीहरूले उल्टै अनितामाथि कुटपिट र दुर्व्यवहार गरेका थिए।

यस विषयमा अनिताले रायसर प्रहरी चौकीमा उजुरीसमेत दिएकी थिइन्। तर प्रहरीले उजुरी दर्ता गरे पनि कुनै कारबाही नगरेको परिवारको आरोप छ।
मृतकका श्रीमान ताराचन्दका अनुसार स्थानीय गाउँकै गोकुल, आनन्दी, रामकरण, बाबूलाल, प्रह्लाद रेगर (वडा पञ्च), मूलचन्द, सुरेश चन्द, सुलोचना, सरस्वती र विमलासहितको समूहले पेट्रोल छर्केर आगो लगाएका हुन्।

‘मेरी श्रीमतीले आफ्नो ज्यान जोगाउन छिमेकीहरूसँग अनुनय विनय गरिन्, तर बदमाशको डरले अनितालाई कसैले सहयोग गरेनन्’, ताराचन्दले भने, ‘उनीहरूलाई प्रहरीले अझै पक्राउ गरेको छैन। प्रहरीको उनीहरूसँग मिलेमतो हुनसक्छ।’

अगस्ट १० मा कोलोनीका एक व्यक्तिले घटनाबारे भिडियो बनाएका थिए। उक्त भिडिओ अगष्ट ११ मै मृतक अनिताका जेठाजु कैलाशले पाएका थिए। तर प्रहरीले उनलाई उक्त भिडिओ सार्वजनिक नगर्न भने। प्रहरीले आरोपितलाई छिट्टै पक्राउ गर्ने भन्दै उक्त भिडिओ सार्वजनिक नगर्न भनेको थियो। तर अनिताको मृत्यु भइसक्दासमेत प्रहरीले आरोपितलाई पक्राउ गरेको छैन। यसैबीच आरोपित ६ पुरूष र ३ महिलाको खोजी जारी रहेको जयपुरका एएसपी धर्मेन्द्र यादवले जानकारी दिए। स्रोत : सेतोपाटी