आजदेखि जग्गा धितो राखेर पाउने ऋणमा नयाँ सीमा

रामेछाप खबर संवाददाता

१८ साउन, काठमाडौं ।

जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा आजबाट लागू भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको घरजग्गा धितोबाट पाइने ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था कार्यान्वयनमा आएको हो ।

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गर्दै घरजग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा, थप कर्जा दिदा वा कर्जा नविकरण गर्दा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र काठमाडौ उपत्यकाबाहिर बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्नेछ । यसअघि यस्तो अनुपात काठमाडौ उपत्यकाको हकमा ४० प्रतिशत र अन्यको हकमा ५० प्रतिशत थियो ।

अब सबै लघुवित्त वित्तीय संस्थाहरुले ऋणपत्र जारी गर्न पाउने
नेपाल राष्ट्र बैंकले सबै लघुवित्त वित्तीय संस्थालाई ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्न राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशनमार्फत सबै लघुवित्त संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको हो ।

सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले प्राथमिक पुँजीको बढीमा सतप्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेस गर्न सक्ने निर्देशनमा उल्लेख छ । यसअघि लघुवित्तले प्राथमिक पुँजीको बढीमा २५ प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने व्यवस्था थियो ।