अनौठो घटना : मम: खाँदा एक ५० वर्षीय व्यक्तिको मृत्यु

रामेछाप खबर संवाददाता

१ असार, काठमाडौं ।

भारतमा मम: खाएर एक व्यक्तिको मृत्यु भएको घटना बाहिरिएको छ । नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का फोरेन्सिक विशेषज्ञहरूले पोस्टमार्टम परीक्षण पछि देशमा पहिलो पटक यस्तो घटना भएको बताए ।

दक्षिण दिल्लीको एक रेस्टुरेन्टमा एक ५० वर्षीय पुरुषले मम: खाइरहेका थिए। अचानक भुईँमा लडेर उनको मृत्यु भयो। पोस्टमार्टमा उनको घाँटीमा मम: अड्किएको भेटियो। पेटमा रक्सी पनि थियो । मम: खाँदा उनी मातेको हुन सक्ने सम्भावना छ । फरेन्सिक विभागका प्रमुख डा सुधीर गुप्ताले यो घटना निकै दुर्लभ भएकोले यसबाट पाठ लिनुपर्ने बताए । डा अभिषेक यादवले पोस्टमार्टममा मृतकको वायु नलीको शुरुमा मम: भेटिएको बताएका छन् । खाना खाने क्रममा श्वास नली अवरुद्ध भएर अप्रत्याशित मृत्यु भएको यो पहिलो घटना भने होइन । विश्वमा १२.२ मिलियन मध्ये एक जनाको मृत्यु खानाको समयमा श्वासप्रश्वासमा अवरोधका कारण हुने गरेको छ ।

दिल्लीको वायु प्रदूषणले मानिसको आयु दस वर्ष छोट्याउँदै
अमेरिकी अनुसन्धान समूहले तयार पारेको एक अध्ययन प्रतिवेदनमा विश्वकै सबैभन्दा बढी प्रदुषित सहरको रुपमा ‘कुख्यात’ भारतको राजधानी नयाँदिल्लीको वायु प्रदूषणले मानिसको आयु झन्डै दस वर्षले छोट्याउन सक्ने उल्लेख गरिएको छ । साथै अध्ययनले अहिलकोे वायु गुणस्तरले औसत भारतीय आयु पाँचवर्षले घटाउने पनि जनाएको छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, “भारतका एक अर्ब ३० करोड मानिस यस्ता क्षेत्रमा बस्छन् जहाँ वार्षिक औसत कण प्रदूषण स्तर विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेकोभन्दा निकै बढी रहेको छ ।”

प्रदुषित वायुकै कारण वर्षेनी भारतमा लाखौं मानिसले ज्यान गुमाउने गरेका छन् । हिउँद महिनाहरुमा भारतीय सहरहरुलाई छोप्ने तुँवालो भरिएको वायुमा फोक्सोमा अवरोध सिर्जना गराउने पिएम२.५ नामक स–साना कणहरु उच्च मात्रामा रहेका हुन्छन् । र, यस्ता कणहरुले अन्य थु्रप्रै रोग निम्त्याउन सक्छन् । अमेरिकाको युनिभर्सिटी अफ सिकागोको ऊर्जा नीति प्रतिष्ठानले तय गरेको वायु गुण आयु सूचीका अनुसार उत्तरी भारतमा बसोबास गर्ने करिब ५१ करोड मानिसको आयु वर्तमान प्रदुषित वायुको कारण औसतमा ७ वर्ष र ६ महिनाले घट्ने गरेको छ ।