पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

रामेछाप खबर संवाददाता

२८ जेठ, काठमाडौं ।

करिब दुइ महिनाअघि देखि पोर्चुगलमा हराइरहेका नुवाकोट बेलकोटगढी–१२ का सुजन सिलवालको शव पोर्चुगलको समुन्द्रमा भेटिएको छ। उनी अप्रिल १५ देखि सम्पर्क बिहिन थिए ।

प्रहरीले बिहिबारमात्रै शवको पहिचान गरी एनआरएनए पोर्चुगललाइ खबर गरेको थियो । सिलवालको शव अहिले अस्पतालमा छ । सिलवाल रोजगारीको सिलसिलामा करिब ७ बर्ष अघि पोर्चुगल गएका थिए।

सिलवाल परिवारको सम्पर्कमा नआएपछि परिवारकै आग्रहमा एनआरएनए पोर्चुगलले पोर्चुगलभरि खोजीकार्य सुरु गरेको थियो । सिलवाल हराएको झण्डै दुई महिनापछि ९ जुनका दिन पोर्चुगल प्रहरीले एनआरएनए पोर्चुगल अध्यक्ष रविन अधिकारीलाई शव भेटिएको बारे जानकारी गराएको थियो ।

सिलवाल हराएपछि प्रहरीमा परिवारको आग्रहमा एनआरएनए पोर्चुगलले प्रहरीमा खबर गरी खोजीकार्य तीब्र बनाइ एनआरएनए पोर्चुगलको अगुवाईमा पोर्चुगलभर सिलवालको खोजीकार्यका लागि फोटोसहितको पम्प्लेट र सूचना टाँसेर अभियान चलाइएको थियो ।

संघका अध्यक्ष रबिन अधिकारीका अनुसार सिलवालको शव भेटिएको बारे परिवारलाई खबर गरिएको र परिवारबाट शव नेपाल पठाइदिन आग्रह गरेका कारण मंगलबार सबै कागजात र आवश्यक प्रक्रिया पुरा गरि शव बुझेर नेपाल पठाउनेबारे जानकारी गराइने बताए।