स्थानीयबासीद्वारा सिसडोल र बन्चरेडाँडामा फेरि फोहोर फाल्न अवरोध, माग पूरा नभएसम्म नदिने

रामेछाप खबर संवाददाता

१८ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गर्नुभएको थियो ।

वार्तामा स्थानीय दलका केही कार्यकर्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए । सरकारसँग वार्ताको विषयमा महत्वपूर्ण भूमिका खेलेका स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानालाई बोलाइएको थिएन । एकतर्फी रूपमा केहीलाई मात्र बोलाएको भन्दै स्थानीय थप आक्रोशित भएका छन् । स्थानीयले मेयर घोषणा भएपछि मेयर साहले गरेका वाचा पूरा नगरेसम्म फोहोर विसर्जन गर्न नदिने अडान कायम राखेका छन् । बरु उहाँले भर्खरै पदबहाली भएका छाै‌, अबको केही दिनपछि माग पूरा गर्नेछौं भनेर केही दिन फोहोर विसर्जन गर्ने समय माग गरेको भए बन्चरेमै फोहोर व्यवस्थापन हुने जिकिर गर्दै स्थानीय भन्छन्–‘तर उहाँले फोहोर विसर्जनको अवस्था सुधार नभएसम्म फोहोर विसर्जन गराउँदिन भन्नुभएको छ, हामी उहाँको वाचा पूरा नभएसम्म फोहोर फ्याँक्न दिन्नौं ।’

महानगरपालिकाको मेयरमा विजयी भएकै दिन शुक्रबार दिउँसो साह केही सहयोगी लिएर सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइट पुग्नुभएको थियो । उहाँले व्यवस्थित रूपमा फोहोर विसर्जन गर्ने बताउँदै माग पूरा नभएसम्म फाहोर नल्याउने वचन दिनुभएको थियो । त्यसअघि सरकारले सुरक्षाकर्मीको सुरक्षा घेरामा फोहोर विसर्जन शुरू गरेको थियो । मेयर साह आएको दिनदेखि बन्चरेडाँडा ल्यान्डफिलमा फोहोर जान सकेको छैन ।शुक्रबारदेखि फोहोर सडकमै थुप्रिएको छ । मेयर साहले फोहोर व्यवस्थापनमा विशेष चासो दिए पनि संघर्ष समितिका संयोजकसँग वार्ता गर्न सक्नुभएको छैन । स्रोतका अनुसार मेयर साहले मंगलबार उहाँका प्रतिनिधिलाई ढुंगानासँग भेट गर्न पठाउनुभएको थियो । संयोजक ढुंगानाले विगतका सहमाति कार्यान्वयन नभएसम्म फोहोर व्यवस्थापन हुन नदिने अडान दोहो¥याउनुभएको थियो । भेटमा उहाँले स्थानीय जनप्रतिनिधि, संघर्ष समितिका प्रतिनिधि र महानगरको मेयर सहितको टोलीले लिखित सहमति गरेपछि मात्र विसर्जन गर्न दिइने बताउनुभएको थियो ।

महानगरका उच्च अधिकारीसहित मेयर साह फोहोर बोक्ने सवारी साधनसहित फोहोर विसर्जन गर्ने तयारीमा हुनुहन्छ । त्यसका लागि मंगलबार स्थानीयसँग भेट्न गएका मेयर साहका प्रतिनिधिलाई स्थानीयले एक्ला एक्लै नभई स्थानीयको बिचमा मात्र वार्ता गरी समस्या समाधान गर्नुपर्ने स्पष्ट धारणा राखेका थिए ।संयोजक ढुंगानाले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘एकजना साथी आउनुभएको थियो, उहाँले मेयर साबले धारणा बुझ्न खोजेको भन्दै हाम्रो धारणा जान्न खोज्नुभएको र हामीले हालको अवस्थाबारे सबै जानकारी दिएका थियौं ।’ उता मेयर साह र उपमेयर सुनिता डंगोलले मंगलबार दिनभर विभिन्न विभागको ब्रिफिङ लिनुभएको थियो । फोहोरमैलाको समस्या समाधान नभएसम्म कुनै योजना तय नगर्ने बताएका मेयर साह दिनभर ब्रिफिङमा व्यस्त हुनुभएको थियो ।

मेयर साह, उपमेयर डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले वित्त र वातावरण तथा कृषि विभागको ब्रिफिङ सुन्नुभएको थियो । दुई निकायको ब्रिफिङ करिब ६ घण्टासम्म चलेको थियो । विगत ३ महिना यता फोहोरमैला व्यवस्थापनमा झण्डै एक महिनाभन्दा बढी समय अवरोध भएको छ । स्थानीयले बन्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध गरेका कारण फोहोर व्यवस्थापन हुन सकेको छैन ।कामपा र ललितपुर उपमहानगरपालिकासहित उपत्यकाका १७ स्थानीय निकायको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन हुन थालेको छ । जनप्रतिनिधिले पदबहाली गरेपछि झन् समस्या बढ्न थालेको छ । मेयर साहले शहरी विकास मन्त्री रामकुमारी झाँक्री संयोजक रहनुभएको उच्चस्तरीय समितिको बैठक तत्काल बोलाएपछि मात्र समस्या समाधान हुने देखिएको छ ।

१० दस्यीय समितिमा कामपा र ललितपुर महानगरपालिकाका मेयर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, ककनी गाउँपालिका अध्यक्ष र धुनिवेंशी नगरपालिकाका मेयर सदस्य र कामपाका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहेका छन् ।सदस्य सचिवको हैसियतमा कामपाका प्रमुख प्रशासकीय अधिकृतले बैठक बोलाएर तत्काल समस्या समाधान गर्ने विषयमा निर्णय गर्नुपर्ने देखिएको छ । अघिल्लोपटक लामो समयसम्म फोहोर विसर्जनमा अवरोध आउँदा प्रमुख प्रशासकीय अधिकृत एवं उच्च स्तरीय समितिका सदस्य सचिवले पौडेलले खासै चासो देखाउनुभएको थिएन ।

समस्या समाधान गर्न मन्त्रालय तयार छ : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनको विषयमा मन्त्रालयसँग सहयोग मागे सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
जनप्रतिनिधि नभएको अवस्थामा मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न सफल भएको दाबी गर्दै स्थानीय जनप्रतिनिधिले पदबहाली गरेलगत्तै फेरि व्यवधान भएको बताउनुभयो । कामपाका मेयर वालेन्द्र साहले स्थानीयलाई भेटेर आश्वासन बाँडेको दिनबाट फोहोर व्यवस्थापन हुन नसकेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘उहाँले राम्रो कुरा गर्नुभएको होला तर स्थानीयले धेरै बुझेर समस्या आएको हो ।’

मन्त्री झाँक्रीले मन्त्रालयले ल्यान्डफिल साइट बनाएर सेल–१ हस्तान्तरण गरिसकेको र सेल–२ तयार हुने अवस्थामा रहेको बताउँदै भन्नुभयो– ‘मन्त्रालले आफ्नो सबै जिम्मेवारी पूरा गरेको छ । सचिवको अध्यक्षतामा गठित समितिले सो विषयमा गम्भीर चासो लिनुभएको छ ।’उहाँले मन्त्रालयले फोहोर व्यवस्थापन गर्न सबै स्थानीय तहलाई प्राविधिक सहयोग गर्न छुट्टै स्वायत्त निकाय गठन गर्न लागेको बताउँदै त्यसको लागि मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक सहमति दिइसकेको जानकारी दिनुभयो ।

मन्त्री झाँक्रीले कानुनी रूपमा फोहोर व्यवस्थापन र विसर्जन गर्ने अधिकार स्थानीय तहलाई भएकोले सरकारले यस विषयमा हस्तक्षेप गर्न नमिल्ने, तर आवश्यक परे सहयोग गर्न तयार रहेको बताउनुभयो ।बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले साइटमा फोहोर व्यवस्थापन गर्न त्रुटि देखिएको भन्दै वैज्ञानिक रूपमा व्यवस्थापन गर्ने अवस्थामा नरहेको बताइरहेका छन् ।