बालेन र प्रधानसेनापतिबीच भेटवार्ता, केके भयो कुराकानी ?

रामेछाप खबर संवाददाता

१६ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन)ले पदभार सम्हालेलगत्तै प्रधानसेनापतिसँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति महारथि प्रभुराम शर्मासँग जंगीअड्डामा नै पुगेर उनले भेटवार्ता गरेका हुन् । मेयरको शपथग्रहण तथा कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग बालेनले भेटवार्ता गरेका छन् । भेटको क्रममा मेयर बालेनले विपद् व्यवस्थापनको क्षेत्रमा सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । साथै राष्ट्रिय सुरक्षामा सेनाले पुर्याएको योगदानको समेत प्रशंसा गरे ।

भेटवार्ताको क्रममा प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । दुई जनाबीच भएको भेटवार्ताका क्रममा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गरेर अघि बढ्ने कुरामा सहमति भएको जनाइएको छ ।

यो पनि…बालेनको प्रस्ताव- महानगरभित्रका रेष्टुरेण्टका शौचालयलाई नै सार्वजनिक बनाइने
काठमाडौं महानगरपालिकाभित्रका रेष्टुरेण्टहरुमा रहेका शौचालयलाई सार्वजनिक शौचालय बनाउने प्रस्ताव महानगर कार्यपालिकामा गरिएको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले महानगरभित्र रहेका रेष्टुरेण्टमा रहेका शौचालयलाई सर्वसाधारणले सहज र निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गर्ने प्रस्ताव गरेका हुन् । कार्यपालिकाको जारी बैठकमा प्रस्ताव पेश गर्दै शाहले केही रेष्टुरेण्ट व्यवसायीहरुसँग अनौपचारिक छलफलका क्रममा आफूले सकारात्मक प्रतिक्रिया पाएको बताए ।

शाहको प्रस्तावअनुसार महानगरको प्रस्तावमा सहमत रेष्टुरेण्टहरुमा शौचलय प्रयोग गर्न सकिने संकेत बोर्ड राखिनेछ । रेष्टुरेण्टमा अन्य सेवा नलिएको सर्वसाधारणले पनि शौचालय प्रयोग गर्न पाउने गरी व्यवस्था हुने शाहको भनाइ छ । उनले महानगरले सार्वजनिक स्थलमा शौचालय निर्माणको क्रमलाई पनि निरन्तरता दिने बताए ।