जहाज भेटिएको छैन, असान्दर्भिक फोटो र भिडिओ प्रयोग नगरिदिनुहोस्: तारा एअर

रामेछाप खबर संवाददाता

१५ जेठ, काठमाडौं ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज आइतबार साँझसम्म भेटिएको छैन। आइतबार बिहान १०ः०७ बजेदेखि सम्पर्कविहीन रहेको ‘९ एन-एईटी’ जहाज सम्पर्कविहीन भएको थियो। जहाजको खोजी भइरहेको र आइतबार साँझसम्म अवस्था अज्ञात रहेको जनाइएको छ।

तारा एअरले प्रेस विज्ञप्ति जारी गरी खराब मौसम र जटिल भूगोलका कारण खोजीमा समस्या भइरहेको उल्लेख गरेको छ। तारा एअरले भनेको छ, “२४ सै घण्टा खोज तथा उद्धार समन्वय केन्द्र खुल्ला रहने व्यवस्थ मिलाई खोजबिन कार्यलाई स्थल एवं हवाई माध्यमबाट सघन बनाइरहेको व्यवहोरो समेत जानकारी गराउँदछौं।”

यससँगै तारा एअरले सञ्चार माध्यम र सामाजिक सञ्जालमा असान्दर्भिक फोटो तथा भिडिओ प्रयोग भइरहेकोमा ध्यानाकर्षण गराएको छ। “विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा आजको घटनासँग असान्दर्भिक फोटो, भिडिओहरू प्रयोग भइरहेको र यस्ता क्रियाकलापबाट चालक दल एवं यात्रुको परिवार तथा आफन्तजनको भावनामा थप आघात पुग्ने भएकाले आधिकारिक रुपमा सूचना, फोटो, भिडिओ नआएसम्म जथाभावी प्रयोग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं,” विज्ञप्तिमा भनिएको छ। जहाजमा तीन जना चालक दलका सदस्य र १९ यात्रु सवार छन्। यात्रुमध्ये १३ जना नेपाली र ६ जना विदेशी नागरिक रहेका छन्।

हराएको जहाज मौसम खराबीका कारण खोज्न सकिएन, अब भोलि खोज्छौं- पर्यटनमन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले खराब मौसमका कारण आज हराइरहेको तारा एयरको विमान खोज्न नसकिएको बताएका छन् । सदनमा बोल्दै उनले आज दिनभर स्थलमार्ग तथा हवाई मार्गबाट हराइरहेको विमानको खोजी गरिए पनि भेट्न नसकिएको बताएका हुन् । ‘वायु यान खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई पठाउँदा पनि मौसम खराबीको कारण जोमसोम फर्किएको थियो,’ आलेले भने, ‘मौसममा सुधार आएपछि १२:४३ मा पुनः जोमसोमबाट सम्भावित स्थलमा हेलिकप्टर गएको तर पनि नभेटिएपछि पोखरा र जोमसोममा स्ट्याण्डबाई हेलिकप्टर राखिएको छ ।’

मौसम खराब भएका कारण कैलाश, डायनास्टिक र अल्टिच्युडको जम्मा तीन वटा हेलिकप्टर पोखरामा स्ट्याण्डबाई राखिएको तथा नेपाली सेना र फिस्टेल एयरको २ वटा हेलिकप्टर जोमसोममा राखिएको उनले बताए । भोलि (सोमवार) बिहानदेखि नै हराइरहेको विमान खोजी गरिने उनले बताए । ‘भोलि बिहानै उद्धारको निम्ति टोली स्ट्याण्डबाई बसेको छ,’ उनले भने, ‘स्थलमार्ग तथा हवाई मार्ग दुवैबाट खोजी कार्य युद्धस्तरमा अगाडि बढाइनेछ ।’

सुरक्षाकर्मीका साथसाथै नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरसहितको टोली पनि त्यहाँ स्ट्याण्डबाई रहेको उनले बताए । आज विहान ९:५५ मा पोखराबाट १९ यात्रु र तीन जना चालक दल सहित जोमसोमका लागि उडेको तारा ट्विनअटर विमान अन्तिम पटक जोमसोम टावरसँग १०:११ मा सम्पर्कमा आएको तर त्यसपछि सम्पर्कविहीन भएको उनले सदनमा जानकारी दिए ।