ताराको विमान खोजी जारी, हतास र भावविह्वल अवस्थामा यात्रुका आफन्त पोखरा विमानस्थलमा

रामेछाप खबर संवाददाता

१५ जेठ, काठमाडौं ।

पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन जहाज खोजी कार्य जारी छ । स्थल र हवाई मार्गबाट विमानको खोजी भइरहेको छ । आइतबार बिहान १० बजेर ७ मिनेटपछि तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । मौसम खराबीका कारण विमानको खोजी कार्यमा समस्या आएको छ । खराब मौसमका बीच नेपाली सेनाको हेलिकोप्टर सम्भावित दुर्घटना क्षेत्रतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ । उक्त हेलिकोप्टर लार्जुङमा ल्यान्ड भइसकेको बताइएको छ।

विमानको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र तारा एअरको उद्दार टोली स्थलमार्गबाट सम्भावित घटनास्थल प्रस्थान गरिसकेको तारा एयरले जनाएको छ । तारा एयरका अनुसार विमानमा चालक दलका ३ सदस्य र १९ जना यात्रुहरु सहित २२ जना रहेका छन् । यात्रुहरूमा १२ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक रहेका छन् । यस्तै, विमानको खोजीकार्य जारी रहँदा पोखरा विमानस्थलमा विमानमा सवार यात्रुका आफन्त पुगेका छन् । उनीहरू निकै हतास र भावविह्वल देखिन्छन् ।

हराएको जहाज खोज्न आर्मीको हेलिकोप्टर लार्जुङ पुग्यो
पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता जहाज खोज्‍न नेपाली सेनाको हेलिकोप्टर मुस्ताङ पुगेको छ । आइतबार बिहान १० बजेर ७ मिनेटपछि तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो ।

खराब मौसमका बीच सेनाको हेलिकोप्टर सम्भावित दुर्घटना क्षेत्रतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ । उक्त हेलिकोप्टर लार्जुङमा ल्यान्ड भैसकेको बताइएको छ।
यस्तै, सोही हेलिकोप्टर फर्किएर थप उद्धारकर्मी लैजाने तयारी छ । चालकदलसहित २२ जना सवार जहाज लेते र लार्जुङ क्षेत्रमै दुर्घटना भएको हुन सक्ने आशंका गरिएकाे छ । तर, पुष्टी भएको छैन । स्थानीयले ठूलो आवाज सुनेको भनेपछि त्यस क्षेत्रमा खोजी केन्द्रित गरिएको छ ।