काठमाडौं महानगर : बालेन शाहले कटाए १० हजार, केशव स्थापित कति मतान्तरले पछि ?

रामेछाप खबर संवाददाता

३ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन् । उनले अहिलेसम्म १०२४१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई झण्डै ५ हजार मतान्तरले पछि पारेको छन् । स्थापितले ५४५३ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत पाएकी छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ । यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन् ।

यो पनि….धवलागिरिमा गठबन्धनका उम्मेदवार विजयी
म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । स्थानीय तह चुनावमा धवलागिरिमा कांग्रेस–माओवादीले तालमेल गरेका थिए । गठबन्धनबाट अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुनले तीन हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले दुई हजार ८१२ मत पाएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की उम्मेदवार थमसरा पुनले दुई हजार ५४८ र उपाध्यक्षमा सोही पार्टीका प्रगति कार्कीले दुई हजार ६१८ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात वडा रहेको धवलागिरिमा कांग्रेसले तीन, एमालेले तीन र माओवादीले दुई वडामा अध्यक्ष जितेका छन् ।

वडा नं १ मा गठबन्धनबाट माओवादीका झक छन्त्याल, २ मा एमालेका अकप्रसाद विक, ३ मा कांग्रेसका देवेन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ती, ५ मा कांग्रेसका अमर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादीका अशोक खत्री निर्वाचित हुनुभएको छ । वडा सदस्य गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । दश हजार ९४० मतदाता रहेको धवलागिरिमा ६१ दशमलव १८ प्रतिशत अथवा छ हजार ६९४ मत खसेको थियो । ३७ पदका लागि ८४ प्रतिस्पर्धामा थिए ।

जिल्लाको छमध्ये चार स्थानीय तह र ३६ वडाको मतगणना सकिएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा सोही पार्टीेका लक्ष्मीदेवी पुन घर्ती निर्वाचित हुनुभएको छ । रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी हुनुभएको छ । मङ्गला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा सोही पार्टीका प्रेमकुमारी अधिकारी (पेमा) निर्वाचित हुनुभएको छ ।

मतपरिणाम सार्वजनिक भएका ३६ वडामध्ये एमालेले १६, कांग्रेसले १३ र माओवादीले छ वडामा जित हासिल गरेको छ । जिल्लाका दशा वडा, बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।