हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…

रामेछाप खबर संवाददाता

२ जेठ, काठमाडौं ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ को वडाअध्यक्ष दानसिंह जोगी पराजित भए भनेर घर फर्किसकेका थिए । उनी जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार थिए । तीब्र प्रतिस्पर्धामा रहेका जोगी आफूले जित्ने माहोल नभएपछि हार स्वीकार्दै घर गएका थिए । पछि फेसबुकबाट विजयी भएको सुचना पाएपछि उनी पुनः मतगणना स्थल गए । उनी नेपाली कांग्रेसका राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् । कठरियाले ६६९ मत पाउँदा जोगीले ६७२ मत पाएका थिए ।

मतगणना सुरु भएदेखि नै कांग्रेस र जसपाबीच टक्कर थियो । अन्तिम मतपरिणाममा कांग्रेसका उम्मेदवार विजयी भएको अपुष्ट खबर सार्वजनिक भयो । मतगणनामा जोगी पनि सहभागी थिए ।

मतगणना सकिँदासम्म कांग्र्रेसका उम्मेदवार विजयी भएको र आफू झिनो मतान्तरले हारेको भन्दै जोगी घर गइसकेका थिए । यता कांग्र्रेसका नेता कार्यकर्ताहरु विजय उत्सब मनाउने तयारी गरिरहेका थिए । तर मतपरिमाण घोषणा हुँदा राजपाका जोगी विजयी भएको निर्वाचन अधिकृत भानदेब जोशीले बताए ।

उता पराजित भएको भन्दै घर पुगेका जोगीले सामाजिक संजालबाट आफू निर्वाचित भएको थाहा पाए । ‘म त हारेको भन्दै घर गएको थिएँ । जितेको कुरा फेसबुकबाट थाहा पाएँ’, उत्साहित हुँदै, उनले भने, ‘अचम्म मानेर आएँ ।’ निर्वाचन समितिले घोषणा भएको तथ्यांक मात्रै आधिकारिक हुने बताएको छ ।

यो पनि…कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी
जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ प्राप्त गरेर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का धनबहादुर रावतले दुई हजार ५६२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमकली बुढा विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रीता खत्री पराजय हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका आठस्थानीय तहमध्ये सबैभन्दा पहिलो मतगणना कनकासुन्दरीको भएको हो । स्थानीय तह २०७४ को निर्वाचनमा पनि उक्त पालिकामा कांग्रेस विजयी भएको थियो ।