मलेसियालमा कोरोनाबाट दुई हजार भन्दा बढी संक्रमित, चार जनाको मृत्यु

रामेछाप खबर संवाददाता

२६ वैशाख, काठमाडौं ।

मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् । त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँका संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन् ।

यहाँ अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढी संक्रमित भएका पनि पाइएको छ । यहाँ अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय संक्रमितहरु रहेका बताइएको छ । तीमध्ये थोरै मात्र संक्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो पनि..मलेसियामा नेपाली श्रमिकको तलब बढ्यो

मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ । सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो ।

मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएर १ हजार ५०० रिंगेट भएको जनाउँदै अबदेखि सोहीअनुसार नयाँ श्रमिकको मागपत्र प्रामाणिकारण गरिने जनाएको छ । दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट अर्थात् करिब ४२ हजार रुपैयाँ नभए मागपत्र प्रमाणित नगर्ने जनाउँदै न्यूनतम पारिश्रमिकको सीमा निर्धारण गरेको हो ।

दूतावासले हालै सूचना जारी गर्दै मे महिनाबाट लागू हुने गरी नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको हो । अब मलेसिया जाने नेपाली श्रमिकले कम्तिमा पनि ४२ हजार रुपैयाँ पाउने गरी मात्र रोजगारदातासँग करार सम्झौता गर्नु पर्नेछ । यसअघि मलेसियामा काम गर्ने साधारण श्रमिकको पारिश्रमिक १ हजार २०० रिंगेट थियो ।

हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको नेतृत्वमा मलेसिया गएको टोलीका सदस्य एवं श्रम मन्त्रालयका सहसचिव थानेश्वर भुसालले मलेसिया सरकारले साधारण श्रमिकको तलब १ हजार ५ सय तोके पनि सुरक्षाकर्मीको रुपमा जाने नेपालीको पारिश्रमिक ३ हजार रिंगेट भन्दा बढी निर्धारण गर्न नेपालले अनुरोध गरेको जानकारी दिए ।