मलेसिया जाने नेपालीको लागी खुसीको खबर !

रामेछाप खबर संवाददाता

काठमाडौं ।

मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ । सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो । मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएर १ हजार ५०० रिंगेट भएको जनाउँदै अबदेखि सोहीअनुसार नयाँ श्रमिकको मागपत्र प्रामाणिकारण गरिने जनाएको छ ।

दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट अर्थात् करिब ४२ हजार रुपैयाँ नभए मागपत्र प्रमाणित नगर्ने जनाउँदै न्यूनतम पारिश्रमिकको सीमा निर्धारण गरेको हो । दूतावासले हालै सूचना जारी गर्दै मे महिनाबाट लागू हुने गरी नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको हो । अब मलेसिया जाने नेपाली श्रमिकले कम्तिमा पनि ४२ हजार रुपैयाँ पाउने गरी मात्र रोजगारदातासँग करार सम्झौता गर्नु पर्नेछ ।

यसअघि मलेसियामा काम गर्ने साधारण श्रमिकको पारिश्रमिक १ हजार २०० रिंगेट थियो । हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको नेतृत्वमा मलेसिया गएको टोलीका सदस्य एवं श्रम मन्त्रालयका सहसचिव थानेश्वर भुसालले मलेसिया सरकारले साधारण श्रमिकको तलब १ हजार ५ सय तोके पनि सुरक्षाकर्मीको रुपमा जाने नेपालीको पारिश्रमिक ३ हजार रिंगेट भन्दा बढी निर्धारण गर्न नेपालले अनुरोध गरेको जानकारी दिए ।

यो निर्णयसँगै रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको मागपत्रमा न्यूनतम पारिश्रमिक तोकेर मागपत्र पेश गर्न निर्देशन दिएको छ । ३ महिनाअघि नै मलेसिया सरकारले पनि श्रमिकको न्यूनतम तलब बढाउने निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । मलेसियाको मानव संशाधन मन्त्रालयले २०२१ मा नै स्वदेशी तथा विदेशी श्रमिकको तलब १ हजार १ सय रिंगेटबाट वृद्धि भएर १ हजार २ हुने निर्णय गरेको थियो । मलेसियाले राजधानी क्वालालम्पुरसहित देशका ५७ वटा सहरमा विदेशी श्रमिकको पारिश्रमिक सोअनुसार हुने जनाएको छ ।

मलेसिया सरकारले यही मे १ देखि लागू हुने गरी न्यूनतम तलब बढाउने घोषणा गरेपछि नेपाली दूतावासले यसलाई मागपत्र प्रमाणीकरणमा उल्लेख गर्नुपर्ने निर्णय गरेको हो । मलेसिया स्थित नेपाली दूतावासले अब पेश हुने नेपाली श्रमिकको मागपत्रमा वृद्धि गरिएको पारिश्रमिकलाई प्राथमिकतामा राखेर प्रमाणिकरण गर्ने जनाएको छ । २ वर्ष भन्दा लामो समय रोकिएर पुनः खुला भएको मलेसियाको रोजगारीमा तलव बृद्धिसँगै धेरै नेपालीले केही राहत पाएका छन् ।

मलेसियामा वर्षेनी चार लाख ५० हजारको हाराहारी नेपाली युवा जाने गरेका छन् । दूतावासले बढाइएको तलब पुराना कामदारको हकमा समेत लागू हुने जनाएको छ । दूतावासले निर्धारण गरेको नयाँ परिश्रमिक नदिने रोजगारदातालाई कारवाहीको प्रक्रियामा ल्याउन मलेसिया सरकारसँग अनुरोध गर्ने भएको छ । हाल मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डले भने हाल निर्धारण गरिएको भन्दा बढी पारिश्रमिक पाउँदै आएका छन् । मलेसियास्थित नेपाली दूतावासले नयाँ आएका मागपत्र प्रमाणीकरणको काम भइरहेको जनाएको छ ।
कारोबार दैनिकमा समाचार छ ।