कस्तो हो चीन निर्यात गर्न लागिएको घाँस?

रामेछाप खबर संवाददाता

१४ चैत, काठमाडौं ।

कोरोना महामारीका कारण रोकिएको प्रशोधित घाँस चीन निर्यात गर्ने प्रोटोकल सरकारले स्वीकृत गरेको छ। पशुपन्छी विकास सचिव निरू दाहाल पाण्डे र चिनियाँ विदेश मन्त्री वाङ यीले सुरक्षित रूपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर गरेका हुन्।

चिनियाँ विदेश मन्त्री वाङ यी शनिबार नेपालको औपचारिक भ्रमणमा आएका थिए। प्रशोधित घाँसको व्यवसायिक उत्पादन गरी निर्यात गर्ने उद्देश्य अनुरूप नेपाल–चीनबीच सम्झौताका लागि तयार पारिएको प्रोटोकल स्वीकृत गर्ने निर्णय गरेको हो। दुई देशका सरकारको स्वीकृत बिना चीनमा कुनै पनि वस्तु निर्यात गर्न पाइँदैन। त्यसैले सरकारले प्रोटोकल बनाएर घाँस निर्यातका लागि बाटो खोलिदिएको हो।

चीन निर्यात गरिने भनेको ‘साइलेज’ घाँस हो। यहाँ विभिन्न कम्पनीले साइलेज उत्पादन गर्दै आएका छन्। यसमध्ये नेपाल ग्रीनल्यान्ड मल्टिपर्पोज प्रालिले चीनमा निर्यात गर्ने भएको हो। प्रोटोकलमा हस्ताक्षर भए पनि सरकारले घाँस चीन निर्यात गर्न सहजीकरण गरिदिनु पर्ने कम्पनीका अध्यक्ष श्रीबहादुर खड्काले बताए।

‘प्रोटोकल पास भयो। अब कार्यान्वयनको पाटो कस्तो हुन्छ हेरौं,’ उनले भने। सरकारले कागजपत्रमा सहजीकरण गरिदिए मात्र घाँस निर्यात गर्न सकिने उनको भनाइ छ। ‘क्वारेन्टाइनमा राख्न पर्ने, भन्सार पास हुन पर्ने, जनावरका लागि स्वस्थकर खाना हो भनेर प्रमाणित गर्न पर्ने प्रोटोकल छ। ती सबै कुरा हामी पूरा गर्न सक्छौं कि सक्दैनौं भन्ने हो,’ उनले भने।

दुई देशबीचको प्रोटोकलमा यो कुरा समावेश भए पनि खरिदकर्ताले त्यस्तो शर्त नराखेको उनले बताए। किसानले निर्यात गर्न सक्ने शर्त राखे मात्र घाँस चीन पठाउन सकिने उनको भनाइ छ। अहिले कम्पनीले नेपाली किसानलाई लक्षित गरी घाँस उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष खड्काले बताए।

‘चीन निर्यात गर्न सकिने हो कि होइन। अहिले हामीले यहाँलाई मात्र पुग्ने गरी उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘यो धेरै समय स्टक राख्न मिल्दैन।’
उनका अनुसार हरियो घाँसको पोषण तत्व कायमै राखेर आवश्यकता अनुसार सुख्खा समयमा प्रयोग गर्न सक्ने अवस्थामा स्टोर गरेर राखिएको घाँसलाई साइलेज भनिन्छ।

यसलाई सामान्यतया निश्चित किलोको ‘रोल’ बनाएर राखिन्छ। कम्पनीले गत चैतदेखि नै साइलेज उत्पादन थालेको हो। निर्यातका लागि प्रोटोकल स्वीकृत नभएकाले यहीँ बिक्री गरिरहेको थियो। ‘हाम्रो पहिलो प्राथमिकता त यहीँ हो। सरकारले सहजीकरण गरिदिए चीन लगायत अन्य देशमा निर्यात गर्छौं,’ उनले भने।

खड्काका अनुसार साइलेज मकै र नेपियर (हाइब्रिड घाँसको जात) लगायत अन्य हरियो घाँसबाट बनाउन सकिन्छ। कम्पनीले भने चितवनमा मकैको साइलेज बनाइरहेको छ। मकै ठूलो परिमाणमा लगाउन सकिने भएकाले यसबाटै उत्पादन गरिरहेको उनले जानकारी दिए।

कम्पनीले राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुरबाट ‘पोसिलो’ जातको मकै ल्याएर साइलेज बनाइरहेको छ। पोसिलो जातको मकै साइलेज बनाउनकै लागि विकास गरिएको हो। कृषि अनुसन्धान परिषद नार्कले साइलेजका लागि अन्य जातको पनि अध्ययन गरिरहेको छ।

अहिले कम्पनीले नमूनाका लागि आफैं बीस बिघामा मकै लगाएको छ। त्यस्तै अन्य ३ सय ५० किसानसँग पाँच सय बिघामा साइलेज उत्पादनका लागि सहकार्य गरेको खड्काले जानकारी दिए। ‘हामीलाई कस्तो गुणस्तरको चाहिने हो भनेर देखाउन थोरैमा खेती गरेका छौं। अरू किसानसँगै लिने हो,’ उनले भने। सहकार्य गरेका किसानले कम्पनीले माग गरेअनुसार मकै उत्पादन गर्नुपर्छ। कम्पनीले पोसिलो जातको मकै उत्पादन गर्ने किसानलाई बिउ, मल र ट्र्याक्टर उपलब्ध गराइदिएको पनि उनको भनाइ छ।

‘हामी मकै रोपेको माटो, मकैको मोइस्चर, घोगा, बोट, डाँठ, पात र धानचामल सबै हेरेर मात्रै लिन्छौं,’ उनले भने। अहिले कम्पनीले उत्पादन गरेको साइलेन देशभित्रै खपत गर्दै आएको छ। यो उत्पादन भएको दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ। एक रोलमा पाँच सय किलो हुन्छ। ती सबै काठमाडौं, पोखरा, चितवन लगायत मुख्य सहरमा बिक्री भइरहेको छ।

साइलेज प्रतिकिलो १५ रूपैयाँ पर्छ। उद्योगबाट फार्मसम्म लगिदिएको भाडा भने किसान आफैंले तिर्नुपर्ने उनले जानकारी दिए। ‘हामीले पनि ट्रक भाडामा लिएर पठाउने हो। त्यसको भाडा किसानले नै तिर्नुपर्छ,’ खड्काले भने। अहिले कम्पनीसँग साइलेज बनाउने तीन वटा मेसिन छन्। उक्त मेसिनले पहिलो चरणमा एक घन्टामा एक टन साइलेज उत्पादन गर्दै आएको छ।

कसरी बनाउने साइलेज?

कम्पनीका प्राविधिक सल्लाहकार डा. नारायण श्रेष्ठका अनुसार साइलेज बनाउन मकै रोपेको ७० देखि ८० दिन भित्रमा काट्नुपर्छ। मकैको डाँठ, पात र घोगा नै साइलेज बनाउन प्रयोग गरिन्छ। मकैको बोट पूरै मेसिनमा हालिन्छ। त्यसलाई मेसिनले आधा वा एक इञ्चको टुक्रा पारेर काट्छ।

त्यसपछि मेसिनले थिचेर त्यो डल्ला बनेर आउँछ। काट्ने मेसिनबाट झरेपछि अर्को मेसिनले त्यसलाई हावा नछिर्ने गरेर २५ पटक प्लास्टिकले बेर्छ। त्यसपछि त्यो डल्लालाई ९० दिन क्वारेन्टाइनमा राखेर खुवाउन लायक भएपछि बिक्री गरिन्छ। साइलेजको एक रोल खोलेपछि त्यो एक दिनभित्रमै गाईवस्तुलाई खुवाइ सक्नुपर्छ। हावा छिरेपछि यसमा भएको पोषण तत्व रहँदैन।

‘हावा छिरेपछि त्यो खुवाउनै नहुने भन्ने त होइन, तर त्यसमा पोषण हुँदैन,’ उनले भने। साइलेज पशुको तौल हेरेर खुवाउनुपर्ने उनी बताउँछन्। पशु सानो छ भने थोरै र दूधालु र ठूलो भए बढीमा २० किलोसम्म खुवाउन सकिन्छ। काठमाडौंका पशुपालकले एक दिनमा ८ देखि १० केजीसम्म खुवाइरहेको उनले जानकारी दिए।

कम्पनीले साइलेज के कसरी खुवाउने भन्नेबारे फर्ममै गएर जानकारी पनि दिन्छ। श्रेष्ठले भने, ‘हामी क्याटलग नै दिन्छौं। मौखिक पनि सिकाउँछौं।’
हरियो घाँस नभएको ठाउँमा पनि पशुलाई पोषणयुक्त खानेकुरा खुवाउन साइलेजको अवधारणा आएको हो। कृषिलाई आधुनिकीकरण गर्न र विषेशगरी सहरमुखी पशुपालन व्यवसायलाई सहजीकरण गर्न साइलेजले सहयोग पुर्‍याउने पनि उनी बताउँछन्।

‘अहिले पशुपालन कम हुनुको मुख्य चुनौती आहार पनि हो। घाँस काट्ने कामदार पनि हुँदैनन्। यसको समाधान साइलेजले गर्छ,’ उनले भने। के साइलेज खुवाएपछि ढुटो, पिठो, दाना, पराल खुवाउन नपर्ने हो? डा. श्रेष्ठका अनुसार साइलेजले हरियो घाँसको काम मात्र गर्छ। त्यसैले साइलेज खुवाए पनि पशुलाई दाना खुवाउन पर्छ। उनले भने, ‘पहिलेको तुलनामा भने अलि कम खुवाउँदा भने हुन्छ।’

ग्रीनल्यान्ड मल्टिपर्पोज प्रालिका अध्यक्ष खड्का साइलेज उत्पादनले पशुपालनमा सहजीकरण हुने र किसानलाई पनि बालीको सुनिश्चित हुने बताउँछन्।
‘किसानलाई उत्पादन कसले किनिदेला भन्ने छ। पोसिलो जातको मकै लगाए हामी किनिदिन्छौं,’ उनले भने। ग्रीनल्यान्ड कम्पनीमा छ जनाले आठ करोड लगानी गरेका छन्। साइलेजको माग भएको सबै देशमा निर्यात गर्ने कम्पनीको उद्देश्य हो। पाँच सय किलोका रोल साना किसानलाई बढी हुने भएकाले एक सय किलोको रोलमा पनि उत्पादन गर्न लागिएको उनले जानकारी दिए। साना किसानलााई लक्षित गरेर आगामी दिनमा काठमाडौंमा डिलर राख्ने योजना बनाएको पनि उनी बताउँछन्।
साभार : सेतोपाटी