फिल्म ‘दुई नम्बरी’ मा पलको ठाउँमा सौगात मल्ल

रामेछाप खबर संवाददाता

४ चैत, काठमाडौं ।

अभिनेता पल शाहलाई लिएर दुई वर्षअघि छायांकन नै प्रारम्भ गरिएको फिल्म ‘दुई नम्बरी’ मा अब उनी नहुने भएका छन् । प्रहरी हिरासतमा रहेका कारण निर्माण टिमले उनको स्थानमा अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा अनुबन्ध गरेको छ । यो फिल्ममा पलको स्थानमा सौगातको प्रवेश भएसंगै फिल्मको छायांकन प्रारम्भ देखि नै गरिने समेत निर्माण टिमले जनाएको छ ।

चैत १५ गतेदेखि छायांकन प्रारम्भ हुने नेपाली फिल्म ‘दुई नम्बरी’ मा पलको स्थानमा अभिनेता सौगात मल्ल आवद्ध भएका हुन् । दुई वर्षअघि नै शुभसाइत गरेर छायांकन प्रारम्भ गर्दा यो फिल्ममा अभिनेता पल शाहको मुख्य भूमिका थियो । तर, फिल्मको छायांकन प्रारम्भ भए लगत्तै कोरोना महामारीका कारण यसको काम अगाडि बढ्न सकेन । दुई वर्षपछि यो फिल्लाई प्रारम्भदेखि नै खिच्ने तयारी गरिएको छ ।

अभिनेता पल शाह यतिबेला प्रहरी हिरासतमा रहेकाले निर्माण टिमले उनको भूमिकामा अभिनेता सौगात मल्ललाई अनुवन्ध गरेको हो । सौगात मल्ल अनुवन्धित भएसंगै फिल्मको मुख्य कलाकारको लाइनअप पुरा भएको छ । यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

यो फिल्म दुई साथीको मित्रताको कथा भन्ने छ । सौगात मल्लको प्रवेशसंगै निर्माणपक्षले यसको प्रदर्शन मिति पनि तय गरेको छ । यो फिल्म आगामी वर्षको कार्तिक ४ गते तिहारको अवसरमा रिलिज गरिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिएका छन् । यो फिल्ममा दीपक मनाङ्गे र अमला देवी राईको लगानी छ । यो फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।