सनी लियोनी अब यसकारण बंगलादेश जान नपाउने

रामेछाप खबर संवाददाता

२८ फागुन, काठमाडौं ।

बलिउड अभिनेत्री सनी लियोनीलाई बंगलादेशले ‘वर्क परमिट’दिन पुनः अस्वीकार गरेको छ । बंगलादेशले यसअघि सन् २०१५ मा पनि उनलाई ‘वर्क परमिट’दिएको थिएन । बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश जान नपाउने भएकी छन् । जसकारण निर्माताले सुटिङ रोक्नु परेको छ ।

सनीका लागि यो पहिलो बंगलादेशी फिल्म हो । बंगलादेशका कैयौं इस्लामिक समूहहरुले सनीलाई आफ्नो देशमा नआउन चेतावनी दिइरहेका छन् । उनीहरुले सनीलाई सरकारले बंगलादेश आउने अनुमति दिए आफूहरुले सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सनीबाहेक फिल्म ‘सोल्जर’का अन्य भारतीय कलाकारलाई बंगलादेशले फिल्मको सुटिङ गर्न अनुमति दिएको थियो । यो फिल्मको निर्देशन शमीम अहमद रोनीले गरिरहेका छन् । बंगलादेश सरकारले सनीबाहेक १० कलाकारलाई ६ मार्चदेखि सेप्टेम्बर ४ सम्मका लागि ‘वर्क परमिट’दिइसकेको छ।

यसअघि सन् २०१५ मा सनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिएको थिएन । एक कार्यक्रममा सहभागिता जनाउन बंगलादेश जाने योजना बनाएकी सनीलाई त्यहाँका इस्लामिक समूहले विरोध गरेपछि ‘वर्क परमिट’पाएकी थिइनन् ।

यो पनि…साउथ फिल्म ‘राधेश्याम’: पहिलो दिनको कमाइ रहेन उत्साहजनक

एजेन्सीः दक्षिण भारतीय चलचित्रको क्रेजले अहिले बलिउडलाई नै छायामा पार्दैछ। यही क्रममा आएको छ बाहुबली स्टार प्रभासको फिल्म- राधेश्याम। धेरै आश गरिएको, बाहुबलीको क्रेज कायम राख्ने विश्वास गरिएको फिल्मले पहिलो दिनको कमाइबाट सबैलाई निराश बनाएको छ। दक्षिण भारतीय फिल्मले पहिलो दिन नै ५० करोड भारुमाथिको कारोबार गरिरहेको बेला राधेश्यामले बल्लबल्ल ३५ करोड भारु आसपासमा कमाइ गर्‍यो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार तेलुगु भाषामा चलचित्रले ३० करोड भारुको कमाइ गरेको छ भने हिन्दीमा जम्मा ५ करोड। साइन्स फिक्सन पिरियड ड्रामा जनराको फिल्मको बजेट पनि तीन सय ५० करोड भारु छ। फिल्ममा एड्भान्स भीएफएक्स प्रयोग भएको छ। त्यसको लागि मात्र निर्माताले ६० करोड भारु छुट्याए। तर यति लगानी उठाउन निर्मातालाई धौ-धौ पर्ने देखिएको छ।

भारतीय फिल्म समीक्षक केआरकेको भनाइलाई आधार मान्ने हो भने फिल्म राम्रै छ। उनका अनुसार फिल्म नचल्नुमा तीन मुख्य कारण छन्। पहिलो हो- दर्शकले यसलाई ‘डब’ फिल्म ठान्नु। जुन होइन। दोस्रो कारण- यसको ट्रेलर एकदम खराब हुनु। र तेस्रो- निर्माताले फिल्मको प्रचारमा कुनै चासो नदेखाउनु।
तर पहिलो दिनको तुलनामा आज शनिबार फिल्मले राम्रो व्यापार गर्ने आश गरिएको छ।