सार्वजनिक सवारीको जोर बिजोर हट्यो, विद्यालय कहिले खुल्छन ?

रामेछाप खबर संवाददाता

१४ माघ, काठमाडौं ।

उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ। शुक्रबार राति १२ बजेबाट लागू हुनेगरि स्थानीय प्रशासनले जोर बिजोर हटाउने निर्णय गरेका हुन्। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर बिजोर हटाउने निर्णय गरेको हो। निजी सवारी साधनको जोर बिजोर भने यथावत छ।

माघ ७ गतेदेखि लागू भएको निर्णय एक सातामै परिवर्तन भएको हो। स्वास्थ्य मापदण्ड अपनाएर सवारी चलाउने दिने निर्णय भएको हो। सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने पनि सिडिओको आदेशमा उल्लेख छ।

सार्वजनिक सवारीमा जोर बिजोर लागू हुँदा झनै भीड बढेको भन्दै सिडिओहरुको निर्णयको आलोचना भइरहेको थियो। कोभिड –१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा जोर बिजोर हटाइएको हो।

यस्तै, बैठकले विद्यालय, विश्वविद्यालयको भौतिक कक्षा माघ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको थियो। शिक्षण सिकाइलाई भने भर्चुअल रुपमा जारी राख्ने निर्णय बैठकले गरेको छ। सार्वजनिक स्थानमा कोप कार्डलाई अनिवार्य गर्ने यसअघिको निर्णय यथावत नै छ।

कांग्रेस ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार भर्चुअल बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।

समितिमा कांग्रेसका पदाधिकारीहरु सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार रहनुभएको छ ।

त्यसैगरी, कार्यसम्पादन समितिमा केन्द्रीय सदस्यहरु रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोईराला र चित्रलेखा यादवलाई पनि राखिएको छ ।

त्यस्तै डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोईराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, र रमेश रिजाललाई पनि समेटिएको छ । अन्य सदस्यहरुमा डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोईराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना रहेको नेपाली कांग्रेसले जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी हप्ता कांग्रेस कार्यसम्पादन समितिको बैठक बसि राष्ट्रिय राजनीति, निर्वाचनको विषय र पार्टीको आन्तरिक विषयहरुमाथि छलफल गरिने बताउनुभयो । कार्यसम्पादन समितिको आगामी बैठकले सरकार सञ्चालनको सम्बन्धमा पार्टीको तर्फबाट सुझाव दिने महामन्त्री थापाले बताउनुभयो ।