एक सातामै हट्यो सवारीको जोर बिजोर प्रणाली

रामेछाप खबर संवाददाता

१४ माघ, काठमाडौं ।

सार्वजनिक सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली हट्ने भएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले जोर बिजोर हटाउने निर्णय गरेको हो। शुक्रबार राति १२ बजेबाट उपत्यकाको जोर बिजोर प्रणाली हट्ने काठमाडौँका प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले पनि जोर बिजोर हटाउन सिफारिस गरेको थियो। जोर बिजोरले सवारीमा यात्रुको थप चाप बढेको भन्दै सर्वसाधरणबाट विरोध भइरहेको थियो। माघ ७ गतेबाट जोर बिजोर प्रणाली लागू भएको थियो।
सिसिएमसीको सरकारलाई सिफारिस– माघ अन्त्यसम्म विद्यालय बन्द गर्नू

नेपालमा कोरोनाभाइरस रोकथामका लागि बनाइएको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा पठनपाठनमा रोक लगाउन र विद्यालयहरु बन्द राख्न सरकारलाई सिफारिस गरेको छ ।

आज बसेको बैठकले माघ मसान्तसम्म वैकल्पिक तरिकाबाट शिक्षण सिकाइका लागि विद्यालयहरुलाई बन्द गर्न अनुरोध गरेको हो । बैठकले यो शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

सिसिएमसी बैठकपछि प्रवक्ता सुनिता नेपालले दिएको जानकारीअनुसार विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गरेर सन्चालन गर्न अनुमति दिन पनि सिफारिस गरिएको छ ।

यसअघि यही बैठकले अहिले उपत्यकामा चलिरहेको जोरबिजोर प्रणालीलाई ट्याक्सी र नीजि सवारी साधनमा मात्र कायम राख्न सिफारिस गरेको थियो ।