रामेछापमा जुनारको जुस बनाउने उद्योग खुलेपछि महिलालाई गाउँमै रोजगारी

रामेछाप खबर संवाददाता

११ माघ, रामेछाप ।

गाउँमा जुनारको जुस बनाउने उद्योग खुलेसँगै रोजगारी पाएपछि रामेछाप नगरपालिका–७ सुकाजोरका महिलाहरु खुसी भएका छन् । उद्योग सञ्चालनमा आएपछि गाउँका महिलाहरुले आफ्नो घरको काम सकेर फुर्सदको समयमा जुनारको दाना तास्ने काम गर्छन् । उनीहरुले जुनारको दाना तास्ने कामबाट प्रतिव्यक्ति मासिक २० देखि ३० हजार रुपैयाँसम्म कमाउने गरेको रामेछाप नगरपालिका–७ सुकाजोरकी सावित्रा कार्कीले जानकारी दिइन्।

उहाँले भन्नुभयाे– ‘हामी महिलाहरु घरको चुलोचौको गरेर बसेका थियौँ। आम्दानीको श्रोत नहुँदा सधै घरखर्च घरका मुलीसँग माग्नुपर्ने बाध्यता थियो । अहिले गाउँमै जुनारको जुस उद्योग खुुलेपछि छोटो समय भए पनि काम पाएका छौँ । बिहान र बेलुकाको घरको सबै काम सकेर बाँकी फुर्सदको समयमा जुनारको बोक्रा तास्ने कामबाट मासिक ३० हजार रुपैयाँसम्म कमाउन पाउँदा आफूहरु ज्यादै खुसी भएको कार्कीले बताउनु भयाे ।

यतिखेर सुकाजोरका १ सयजना महिलाहरुले यस उद्योगमा रोजगारी पाएका छन् । कलेज पढ्ने छात्राहरुले पनि बिहान कलेज पढेर फर्केपछि दिउँसोको फुर्सदको समयमा जुनार उद्योगमा नै काम गर्दै आएका छन् । पकेट खर्च र कजेलको शुल्क बुझाउन समेत आफ्नै कमाइले पुग्दै आएको रामेछाप नगरपालिका–७ सुकाजोरकी रेजीना कार्कीले बताउनु भयाे ।

उहाँले भन्नुभयाे–’पहिला गाउँमा केही गरौँ भन्दा पनि काम गर्ने अवसर पाएका थिएनाैँ । अहिले जुस उद्योग सञ्चालनमा आएको छ । जुस बनाउनको लागि जुनारको दाना छिल्ने काम केही महिना भए पनि पाएका छौँ। बिहानको समय कलेज पढेर फर्कने र दिउँसोको खाली समयमा उद्योगमा आएर काम गरेर आफूलाई पुग्ने पैसा आफैँ कमाइ गर्दा धेरै खुुशी छौँ।’ अहिले घरका अभिभावकसँग खर्च माग्नु पर्ने अवस्थाको अन्त्य भएको कार्की बताउनुहुन्छ ।

जिल्लामा जुनार भण्डार गर्ने चिस्यान केन्द्र नहुुँदा जुनार पाक्ने सिजनमा मंसिरदेखि माघसम्म तीन महिना मात्रै गाउँका महिलाहरुले रोजगारी पाउने गरेका छन् । जुनाार पाकेपछि पछिसम्म राख्ने स्टोर नहुँदा जुनार कुहिने डरले एकै पटक जुनार पेलेर जुस राख्ने गरिएको मन्थली डिलक्स एग्रो फरेष्टी प्रा.लि.का प्रोपाइटर लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे -‘जिल्लामा चिस्यान केन्द्र निर्माणकाे क्रममा छ, कहिले सम्पन्न हुन्छ थाहा छैन। चिस्यान केन्द्र नहुँदा जुनार पाकेको सिजनमा एकैपटक बोटबाट टिप्नुपर्ने र तत्काल नै पेली हाल्नुपर्ने अवस्था छ । जुनार धेरै समय राख्दा कुहिने डरले चाँडै पेल्नुपर्ने समस्या छ ।’ चिस्यान केन्द्र भएपछि यो समस्याबाट मुक्ति मिल्ने र रोजगारी पनि बाह्रै महिना दिन सकिने श्रेष्ठ बताउनुहुन्छ ।

जुनार पाक्ने सिजनमा जुनारको जुस बनाएर राख्ने र यसबाट जुस बनाउने गरिन्छ । जुस प्लास्टिकको बोतलमा राखेर बाह्रै महिना बजारमा बिक्रीको लागि लैजाने गरिन्छ । जुनारको जुस कोसेलीको रुपमा लैजाने र बाहिरी जिल्लाबाट भ्रमण आएका पाहुनालाई जिल्लाको पहिचानको रुपमा जुस बिक्री बितरण गरिँदै आएको छ । उज्यालो