आइपीएलको अक्सनमा कोको परे नेपाली खेलाडी ? (नाम सहित )

रामेछाप खबर संवाददाता

८ माघ, काठमाडौं।

इन्डियन प्रिमियर लिग (आइपीएल) को सन् २०२२ को अक्सनका लागि १५ जना नेपाली खेलाडीको नाम दर्ता गरिएको छ। आइपीएलको आगामी सिजनका लागि संसारभरका एक हजार २१४ खेलाडीले अक्सनका लागि दर्ता गरेका छन्। त्यसमा नेपालका १५ खेलाडी रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उनीहरूको नाम आइपीएलको अक्सनका लागि क्यानले नाम दर्ता गराएको हो।

नेपाली खेलाडी आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहितकुमार पौडेल, सुशन भारी, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करन केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी सन्दीप लामिछाने छन्।

नेपाली कप्तान लामिछानेले यसअघि पनि दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिसकेका छन्। यस पटक खेलाडीको नाम दर्ताका लागि २० जनवरीसम्मको समय दिइएको थियो। त्यसमा भारतका ८९६ र विदेशका ३१८ खेलाडीको नाम दर्ता भएको बीसीसीआईले जनाएको छ।

यो वर्षको आइपीएलमा १० टीमले प्रतिस्पर्धा गर्नेछन्। लखनउ र अहमदाबादका टीम थपिएका छन्। नयाँ सिजनका लागि १२ र १३ फेब्रुअरीमा  ब्याङ्लोरमा अक्सन हुनेछ।

एउटा टीमले बढीमा २५ खेलाडी राख्न पाउनेछ। नाम दर्ता भएका एक हजार २१४ खेलाडीमध्ये २१७ खेलाडी छनोट हुनेछन्। यसअघि खेल्दै आएका टीमले बढीमा चार खेलाडी ‘रिटेन’ गर्न पाउने व्यवस्था छ। जस अनुसार, आठ वटा पुराना र दुई नयाँ टीमले ३३ खेलाडी छनोट गरिसकेका छन्। बाँकी खेलाडीका लागि अक्सन हुनेछ।

नेपालसँगै एसोसिएट देशमध्ये अमेरिकाबाट १४, नामिबियाबाट तीन, ओमनबाट तीन, भुटान, नेदरल्यान्ड्स, स्कटल्यान्ड र यूएईबाट एक–एक खेलाडी अक्सनका लागि दर्ता भएका छन्। यसै गरी अस्ट्रेलियाबाट ५९, दक्षिण अफ्रिकाबाट ४८ र वेस्ट इन्डिजबाट ४१ खेलाडीको नाम दर्ता भएको छ।