बिहारका एक पुरुषद्वारा कोरोना खोपको ११ डोज लिए ?

रामेछाप खबर संवाददाता

२३ पुस, काठमाडौं ।

भारतको बिहारका एक पुरुषले कोरोनाविरुद्धको खोपको ११ डोज लिएको दाबी गरेका छन्। मधेपुरा जिल्लास्थित पुरैनीका ८४ वर्षीय ब्रह्मदेव मण्डलले उक्त दाबी गरेका हुन्। खोप लगाउन थालेदेखि कहिल्यै बिरामी नपरेको र स्वास्थ्यमा सुधार आएको उनले बताए।

यता, मधेपुराका सिभिल सर्जन डा अमरेन्द्र प्रताप शाहीले उनको दाबी साँचो हो वा झुटो हो त्यसको छानबिन गरिने बताए अस्पतालको अभिलेख जाँच्ने र उनको दाबी सत्य पाइएमा जिम्मेवार व्यक्तिलाई कारबाही गरिने शाहीले बताए।

अहिले भारतमा कोरोनाको तेस्रो लहर चलिरहेको छ र बुधबार देशमा ९० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षभन्दा माथिका मानिसहरूलाई जनवरी १० देखि तेस्रो डोज दिने घोषणा गरेका थिए। भारतमा अहिलेसम्म दुई डोज मात्रै दिने अनुमति छ। जनवरी ३ देखि १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप दिइँदैछ।

बाँकेमा बाघ आतङ्क : तीन महिनामा तीन जनाको लियो ज्यान

बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ ।

बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ ।

बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको पञ्जाबाट उम्किएर बच्न सफल उहाँको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राले चोट लागेकोे छ । केही दिनअघि राप्तीसोनारीका वडा नं ५ र ६ को जङ्गलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई बाघले झम्टेको थियो ।

बिहीबार राप्तीसोनारी–४ स्थित स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो । विष्टलाई बाघले आक्रमण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको अवस्थामा भेटिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार प्रहरी घटनास्थल पुग्दा बाघले मान्छेलाई खाइरहेको थियो । होहल्ला गर्दा पनि नभागेको बाघलाई प्रहरीले दुई राउण्ड फायर गरेर अलिकति टाढा भगाएर शव लिएर आएको थियो ।

राप्तीसोनारी–४ को क्षेत्रमा केही दिनदेखि बाघको आक्रमण बढेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले शुक्रबारदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोली पठाएर बाघलाई लखेट्ने बताउनुभयो । उहाँले स्थानीयवासीलाई पनि सचेत गराउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

बाघको सङ्ख्या बढाउनकै लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघको गणना गर्ने कार्य भइरेहेको छ । पछिल्लो गणनाअनुसार बाँकेमा २१ बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताउनुभयो ।