२० हजार लिटर डिजल बोकेको ट्यांकर पल्टियो, तेल थाप्न स्थानीयको भिड

रामेछाप खबर संवाददाता

१४ मंसिर, दाङ ।

घोराही उपमहानगरपालिका–३ चौपट्टा नजिक २० हजार लिटर डिजल बोकेको ट्यांकर दुर्घटनामा परेको छ । डिजल बोकेको ट्यांकर पल्टिँदा डिजल पोखिएको छ ।

डिजल भर्न स्थानीयको भिड लागेको छ । सोमबार बेलुकादेखि नै डिजल भर्नेको भिड लागेको हो । प्रहरीले डिजल भर्न रोक लगाएको भएपनि स्थानीयले नमानेको, जर्किन र ठूला ड्रम बोकेर दुर्घटना स्थलमा गएर थापेका छन् । नेपालगञ्जबाट घोराही स्थिति सगरमाथामा सिमेन्ट उद्योगमा डिजल लैजाने क्रममा ना ४ ख ५५९९ नम्बरको ट्यांकर दुर्घटनामा परेको थियो ।

जीप दुर्घटनाका घाइते र मृतकका परिवारलाई आर्थिक सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जीप दुर्घटना हुँदा वडा सदस्यसहित चारजनाको मृत्यु र चारजना घाइते भएका थिए ।

घाइतेलाई जनही एक लाख रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए। मृतकका परिवारलाई किरिया खर्चका लागि पचास हजारका दरले उपलब्ध गराउने निर्णय भएको उनले बताए।

बेनीदेखि बेगको सिम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप औलामा दुर्घटना हुँदा बेगकी वडा सदस्य गौमाया बिक, चालक दुढबहादुर थापा, यात्रु खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको थियो । मृतक र घाइते सबै बेगका हुन् । ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भिम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जालाई बेनी अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको छ ।

प्रहरीका अनुसार जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो। मंगलबार बिहानै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताए । यसैगरी रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रशासकीय अधिकृत अमृत सुबेदीले मंगलबार शोक विज्ञप्ति जारी गरेर मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।

वडा सदस्यको निधन भएको शोकमा गाउँपालिका, शाखा र वडा कार्यालय तथा बेगका विद्यालय मंगलबारका लागि बन्द गरिएका छन्।