शिल्पा शेट्टी र राज कुन्द्रालाई अर्को संकट, फेरि मुद्दा दर्ता ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २८ कात्तिक ।

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका श्रीमान राज कुन्द्राको समस्या लगातार बढ्दै गएको छ । कानुनी मुद्दामा फसेका यी जोडीविरुद्ध अब अर्को मुद्दा दर्ता भएको छ ।

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध मुम्बईको बान्द्रा पुलिस स्टेशनमा ठगीको मुद्दा दर्ता भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार नितिन बराई नामका व्यक्तिले बान्द्रा प्रहरीलाई शिल्पा र राजले एक फर्ममार्फत २०१४ देखि ठगी गरिरहेको बताउदै मुद्दा दर्ता गराएका छन् ।

बराईको उजुरीपछि बान्द्रा प्रहरीले शिल्पा शेट्टी, राज कुन्द्रालगायत अन्य सबै अभियुक्तहरूविरुद्ध आईपीसीको धारा ४०६, ४०९, ४२०, ५०६, ३४ र १२० (बी) अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । यसपछि अब मुम्बई पुलिसले छिट्टै यस मामिलामा आरोपीलाई सोधपुछ गर्न सक्छ। यसै क्रममा यस केसमा राज कुन्द्रा र शिल्पा शेट्टीको पक्ष जान्नका लागि प्रहरीले छिट्टै सम्पर्क गर्न सक्नेछ ।

आफ्नो कम्पनीको फ्रेन्चाइज लिएर पुणेको कोरेगाउँ इलाकामा स्पा र जिम खोल्दा निकै फाइदा हुने बताएको प्रहरीलाई उजुरी दिँदै बराइले बताएका छन् । उनको सल्लाहबमोजिम बराइले १ करोड ५९ लाख २७ हजार रुपैयाँ लगानी गरे तर पछि आरोपितले उक्त रकम आफ्नो फाइदाका लागि प्रयोग गरे । यति मात्र होइन, पैसा फिर्ता मागेपछि धम्कीसमेत दिइएको बताइएको छ ।

राज कुन्द्रा पछिल्लो मुद्दामा जमानतमा छुटेका छन् । राज कुन्द्रा पोर्नोग्राफिक फिल्म निर्माण र प्रसारण गरेको आरोपमा गत जुलाईमा पक्राउ परेका थिए। यो मुद्दामा उनले करिब २ महिना जेल बसेका थिए । हाल उनी धरौटीमा जेलबाट बाहिर आएका छन् ।