रामेछापको सुकाजोरमा भिषण आगलागी, २२ वटा घरगोठ जले

रामेछाप खबर संवाददाता

१२ चैत, रामेछाप ।

रामेछाप नगरपालिका–७ सुकाजोरमा आगलागी हुँदा २२ घरगोठ जलेका छन् । रामेछापमा विद्युत् सर्ट भइ आगलागी हुँदा एकै गाउँका ११ वटा घर र ११ वटा गोठ गरी २२ वटा घर गोठ जलेर नष्ट भएका हुन् । आज दिउँसो स्थानीय विनोद श्रेष्ठको घरमा विद्युत् सर्ट भइ आगलागी सुरु भएको थियो ।

श्रेष्ठको घरमा लागेको आगो हावाहुरीका कारण नजिकका छिमेकी चिरञ्जीवी श्रेष्ठ, ठेगबहादुर मगर, हिमाल श्रेष्ठ, एकलाल श्रेष्ठ, दलबहादुर मगर, ईश्वरलाल श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ, शङ्कर श्रेष्ठ र प्रेमकुमार श्रेष्ठका गरी ११ वटा घर र ११ वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ । आगलागीले नगद, अन्नपात, लत्ताकपडा लगायतका सामग्री जलेका छन् । क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको पनि प्रहरी नायब उपरीक्षक थिङले बताउनुभयो । अहिले पीडितका लागि अस्थायी टहरा बनाउने काम भइरहेको रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो ।

तत्काललाई नेपाली सेना र रामेछाप नगरपालिकाले खाद्यान्न र लत्ताकपडाकाे व्यवस्थापन गरेकाे छ । आगलागी पीडितका लागि खाद्यान्न, ओड्ने र ओछ्याउने म्याट, भाँडाकुडा लगायतका सामग्री व्यवस्थापन गरिएको रामेछाप नगरपालिकाका उप–प्रमुख सिर्जना खड्काले जानकारी दिनुभएको छ । उज्यालो