१८ वर्षीया युवतीको साथमा १० लाख भेटिएपछि दुईजना पक्राउ, स्रोत खोज्दै प्रहरी

रामेछाप खबर संवाददाता

काठमाडौं, २३ असोज ।

स्रोत नखुलेको १० लाखभन्दा धेरै रहकसहित महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महोत्तरीकै मनरा सिस्वा नगरपालिका ५ कटैया बस्ने ३४ वर्षीय दीपेन्द्रकुमार साह र भंगहा नगरपालिका ७ की १८ वर्षीया बिन्दा कुमारी साहलाई १० लाख रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीबाट शुक्रबार उनीहरु पक्राउ परेका हुन्। नम्बरबिनाको मोटरसाइक चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा स्रोत नखुलेको रकम फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश बिष्टका अनुसार शंका लागेर चेकजाँच गर्दा रकम फेला परेको हो। दीपेन्द्रकुमारले पिठ्युमा बोकेकोको झोलामा पाँच लाख, मोटरसाइकलको सिटमुनिमा लुकाएको २ लाख, मोटरसाइकलको एयर फिल्टरको पल्लाभित्र लुकाएको तीन लाख र उनको खल्तीबाट चार हजार चार सय गरी जम्मा १० लाख चार हजार चार सय रुपैयाँ बरामद भएको विष्टले जानकारी दिए।

रकमसहित जलेश्वर भन्सार कार्यालय राखिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साभार : नेपालखबर

भिरबाट लडी घाइते पुरुषको सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो उद्धार

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भिरबाट लडी घाइते भएका पुरुषको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
शुक्रवार भिरबाट लडी घाइते भएका पुरुषको आज सुदूरपश्चिम प्रदेश सरकारको पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

भिर बाट लडी घाइते भएका जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका २ बस्ने ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज पठाइएको सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

घटना भएको जानकारी प्राप्त हुनासाथ उद्धारका लागी पहल गरिएको र अहिले उद्धार गरी पठाइएको बताउँदै मन्त्री जोशीले उद्धारका क्रममा लाग्ने खर्च प्रदेश सरकारले बेहोर्ने बताइन् ।