आनाको ५ देखि १० लाखमै जग्गा पाइने उपत्यकाका यी ठाउँ !

रामेछाप खबर संवाददाता

२१ माघ, काठमाडौं ।

उपत्यकामा घरजग्गाको मूल्य यसरि बढेको छ कि, चक्रपथबाट ४/५ किलोमिटरको दूरीसम्म त आनाको २० लाख रुपैयाँ घटी जग्गा पाउनै छोडिसक्यो। उपत्यकाको जग्गा सामान्य मान्छेको पहुँचबाट टाढा हुँदै गएको बेला पछिल्लो समय जग्गा किन्नेको रोजाइमा परेका ठाउँ हुन्, टोखा र बुङमती। उपत्यकाका दुई ओटा भीआईपी आवास क्षेत्र नजिकका यी ठाउँमा प्रतिआना ५ देखि १० लाख रुपैयाँसम्ममा अहिले पनि जग्गा नपाउने होइन। तर पनि पछिल्लो केही महीनायता यी ठाउँमा पनि जग्गा किन्ने मान्छेको चहलपहल हुन छोडेको स्थानीयहरु बताउँछन्।

बुढानिलकण्ठ नजिक रहेको टोखा र भैंसेपाटी नजिक रहेको बुङमति क्षेत्रमा अहिले पनि ५ देखि १० लाख रुपैयाँ आनामा जग्गा किन्न पाइन्छ। केहि समय अघिसम्म सार्वजनिक विदाको दिन जग्गा किन्न आउने मानिसहरुको भीड लाग्ने गरेकोमा पछिल्लो २/३ महीना यता भने यी ठाउँमा मान्छेको चहलपहल नै हुन छोडेको स्थानीयहरु बताउँछन्।

चक्रपथभन्दा ६ देखि ८ किलोमिटरको दुरीमा रहेका यी ठाउँमा दुई ओटा ठूला विकास निर्माणका आयोजनाले पनि जग्गा किन्नेहरुलाई तानीरहेको थियो। टोखामा सुरुङमार्ग र बुङमतिमा द्रुतमार्ग आयोजना छन्। यी आयोजनाका कारण पनि जग्गा किन्नेहरुको रोजाइमा यी ठाउँ परेको घरजग्गा व्यावसायि विनोद सुवेदीले बताए।

जग्गाको डिल गर्न फिल्डमा गइरहने सुवेदीले पनि पछिल्लो समय यी ठाउँमा मानिसको चहलपहल धेरेनै घटिसकेको बताए। टोखा क्षेत्रमा जग्गा खोज्दै फिल्डमा आउने मान्छे नदेखेको लामो समय भइसकेको टोखाका स्थानीय श्याम कार्कीले बताए।

‘टोखा-छहरे सुरुङमार्ग आयोजना अघि बढाउने निर्णय भएपछि केही वर्ष सम्मै हरेक शनिवार सयौं मानिसहरु जग्गा खोज्दै आउँथे’, टोखाको नालामा भेटिएका कार्कीले भने, ‘पछिल्लो २/३ महिनामा त २/४ जना मान्छे पनि फिल्डमा आएको देखिदैनन्।’

त्यस्तै कहानी ललितपुरको बुङमतिको पनि छ। ‘काठमाडौं-तराई द्रुतमार्ग निर्माणको जिम्मा नेपाली शेनाले पाएपछि यहाँ पनि १/२ वर्ष सम्मै हरेक शनिवार सयौं मानिसहरु फिल्डमा पुगेका हुन्थे’, डुकुछापमा भेटिएका स्थानीय रमेश महर्जनले भने, ‘पहिला फास्ट ट्र्याक बन्दै छ भनेपछि धेरै मानिसको चहलपहल थियो। अहिले फास्ट ट्र्याकको ट्र्याकनै खुलेपछि भने मान्छेनै आएका छैनन्।’

अहिले फिल्डमा मान्छे नजानुको कारण बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावनै भएको घरजग्गा व्यावसायि सुवेदीले बताए। ‘गोजीमा पैसा हुनेहरु र पहिलेनै बैना बट्टा भइसकेका जग्गा मात्रै यतिबेला किनबेच भएका छन्।’ सुवेदीले भने, ‘बैंकबाट एक/डेढ लाख रुपैयाँ पनि कर्जा नपाउने अवस्था आएपछि नयाँ मान्छे फिल्डमा आउन नसकेका हुन।’आर्थिक अभियानमा यो खबर छ ।’