बैंकबाट पैसा निकालेर कारोबार गर्नु भएको छ भने यो सुचना अवस्य पढ्नुहोस्।

रामेछाप खबर संवाददाता

२१ माघ, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग रु सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलबार पत्राचार गरेको हो ।

विभागका निर्देशक रोशनकुमार सिग्देलले वाणिज्य बैंकहरूलाई पठाएको पत्रमा गत साउन १ देखि पुस ३० गतेसम्म भएका रु सात लाखभन्दा बढीको नगद कारोबार गर्नेको पूर्ण विवरण यही माघ २४ गतेसम्ममा उपलव्ध गराउन निर्देशन दिइएको छ ।

उनका अनुसार राष्ट्र बैंकले नियमित अनुगमनको क्रममा यस्तो माग भएको हो। ‘राष्ट्र बैंकको यो अधिकार हो। नियमित प्रक्रियाअन्तर्गत हामीले ७ लाख बढीको कारोबार भएकाहरुको सूची मागेका हौं,’ पोखरेलले भने।

पछिल्लो समय नेपालबाट भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी र हाइपर फन्डमार्फत् नेपाली पैसा विदेशिएको भन्दै नेपाल राष्ट्र बैंकले निगरानी बढाएको छ। हाइपर फन्डमा नेपालीहरुको ठूलो समूह सक्रिय रहेको भन्दै राष्ट्र बैंकले मिहीन ढंगले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।

यसअघि नै राष्ट्र बैंकले त्यस्ता फन्डहरुमा लगानी नगर्न सूचना जारी गरिसकेको छ। कसैले त्यस्तो फन्डमा लगानी गरे कानुनी कारबाही गरिनेसमेत जनाएको छ। प्रहरीले पनि केही दिनअघि अनलाइन बेटिङ खेलाउनेहरुको ठूलो समूहलाई नियन्त्रमा लिएको थियो।

‘डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

डिजिटल नेटवर्किङको माध्यमबाट देशको पूँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे । उनले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पूँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अर्थमन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । जिम्मेवार तहका नेताहरूले नै वडाको नेतृत्व लिएर श्रम समूह र श्रम दल बनाएर उत्पादकत्व बढाउने काममा सक्रिय हुन उनले आग्रह गरे ।