खेल्न भन्दै गोठमा पसेका तीन बालक आफैंले सल्काएको आगोमा परेर मृत्यु भयो

रामेछाप खबर संवाददाता

७ मंसिर, काठमाडौं ।

फाइल तस्बिरफाइल तस्बिर
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा सोमबार हरिसिद्धि प्रा.वि.मा पढेर फर्किँदै गरेका तीन बालक खेल्न भन्दै गोठमा पसे । गोठमा भदौका ढोड सुकाएर हिउँदमा गाईबस्तुलाई खुवाउन भनेर राखिएको थियो ।

खेल्ने क्रममा उनीहरुले त्यही ढोडमा आगो सल्काए । सुकेको ढोडमा आगो छिरभरमै फैलियो । आगोको लप्का र धुँवाले बाहिर निस्किने ढोका ढाक्यो । ६ वर्षीय मनोज तामाङ, पाँच वर्षीय मनिष तामाङ र पाँच वर्षीय दिलबहादुर तामाङ बाहिर निष्किन सकेनन् ।

“उनीहरु त्यो कोठाको अर्को कुनामा गएर एकैठाउँ बसेछन् । तर, आगो फैलिँदै जाँदा उनीहरु सायद निसास्एिर बेहोस भए । कटेरोमा पूरै आगो लाग्दा उनीहरु पनि जले,” हेलम्बु गाउँपालिका–७ सुर्सिङका वडा सदस्य जित बहादुर तामाङले बाह्रखरीसँग भने, “उनीहरु तीन जना नै एकै ठाउँमा आधाभन्दा धेरै शरीर जलेको अवस्थामा मृत फेला परेका छन् ।” कटेरोसँगै रहेको अर्को घर पनि जलेको उनले बताए ।

झाक्रिटोलमा ०७२ को भूकम्पपछि पहिलेको जस्तो बाक्लो बस्ती छैन । बस्तीमा भएकाहरु पनि मंसिरको चटारोमा छन् । “मंसिरको महिना भएकाले घरका ठूला मान्छे अहिले दिउँसो घरमा हुँदैनन्, सबै मेलापातमा हुन्छन्,” वडा सदस्य तामाङले सुनाए, “हिजो पनि त्यस्तै भयो । ठूला मान्छे सबै मेलामा गएका बेला घटना घट्यो जसका कारण उनीहरुलाई बचाउने त्यहाँ कोही भएन ।”

मृत्यु हुने ६ वर्षीय मनोज तामाङ सञ्च तामाङ छोरा हुन् । पाँच वर्षीय मनिष तामाङ सुकमानका र पाँच वर्षीय दिलबहादुर तामाङ साइला तामाङका छोरा हुन् ।