केपी ओलीलाई तत्काल पक्राउ गर्न युवराज सफलको माग

रामेछाप खबर संवाददाता

२३ वैशाख, काठमाडौं ।

नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छौँ भनी अर्बौ असुल्ने गिरोहका मुख्य नाइके भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल लगायतका हाई प्रोफाइल राजनीतिज्ञलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।

शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्राचारमार्फत संयोजक सफलले उनीहरूलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न माग गरेका हुन् ।

उनले पक्राउ पुर्जी जारी भए पनि फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीलाई पनि तत्काल पक्राउ गर्नुपर्ने पत्रमा उल्लेख गरेका छन् ।

पत्रमा संयोजक सफलले भनेका छन्, ‘सो संगठित अपराध एवं मानवतस्करी कसुरमा पक्राउ पुर्जी जारी भएर पनि फरार रहेका टोप बहादुर रायमाझीलाई तत्काल पक्राउ गर्न नेपाल समाजवादी मोर्चाको तर्फबाट जोडदार माग गर्दछु ।’

उनले तत्कालीन गृह सचिव प्रेम कुमार राई, बादल पछिका गृहमन्त्री बालकृष्ण खाँणलाई समेत पक्राउ गरी संगठित अपराध एवं मानव तस्करी मुद्दामा आवश्यक कारबाही गर्न ध्यानाकर्षण गराएका छन् ।