३ चैत, काठमाडौं ।
जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो (कार्यकालको हिसाबले चौँथो) राष्ट्रपति बनेका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपराष्ट्रपति निर्वाचनको मतदानपश्चात मतगणनामा दुई प्रतिस्पर्धीलाई हराउँदै उनी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनीसँगै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झा उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका थिए ।
उपराष्ट्रपतिमा निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् । एमालेकी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्तर्फ ८ हजार २१६ गरी कूल १६ हजार ३२८ मत प्राप्त गरिन् भने जनमतकी झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरिन् ।
शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । उपराष्ट्रपति निर्वाचनमा कूल ८२९ मत खसेको निर्वाचन आयोगले जनाएको छ । संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ जना सांसदले मतदान गरेका थिए । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरे भने प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरे।
सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको थियो।
खेलकुद क्षेत्रलाई उपेक्षा गर्न हुँदैन : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताउनुभएको छ । आईसीसी लिग–२ मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रवार शीतल निवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्न नहुने बताउनुभएको हो ।
राष्ट्रपति पाैडेलले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताउनुभयो । उहाँले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईँहरू विश्व कपको यात्राका लागि जाँदै हुनुहुन्छ । मैले हिजो इन्ट्रेस दिएर हेरेँ, असाध्यै राम्रो खेल थियो । दर्शकहरू पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो । पूर्वाधारको कमी रहेको छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नुहुँदैन । यसमा त विश्वका देशहरूसँग प्रतिस्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ ।’
राष्ट्रपति पौडेलले खेलाडीहरूको मनोबल बढाउन सरकार लाग्नुपर्ने बताउनुभयो ।