बसको ठक्करबाट २४ वर्षीया युवतीको मृत्यु !

रामेछाप खबर संवाददाता

३ चैत, काठमाडौं ।

पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

कैदीबन्दी कोचाकोचले सरुवा रोग फैलिने डर
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार सय ९८ कैदीबन्दी छन् ।

धेरै कैदीबन्दी हुँदा सुत्न, खाना खान र शौचालय प्रयोग गर्न समस्या भएको कारागार प्रशासनले जनाएको छ । पन्ध्र–सोह्र जनाले एउटै बाथरुम प्रयोग गर्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले गुनासो गरेका उनीहरूका आफन्तजन बताउँछन् । कारागारमा अहिले महिला ७४, चार सय २१ पुरुष र तीन नाबालक छन् । साविकको पश्चिमाञ्चल क्षेत्रमै नमूना करागारका रूपमा रहेको भए पनि अहिले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या बढ््दै गएको जेलर पुनराम पौडेलले बताउनुभयो ।

“मनोरञ्जनलगायत प्रयोजनका लागि बनाइएका कोठा कैदीबन्दी सुत्नका लागि प्रयोग गरेका छौँ”, उहाँले भन्नुभयो । सदरमुकाम परासीको मुख्य बजार क्षेत्रमा रहेको कारागार साँघुरो भएपछि केही वर्ष पहिले फराकिलो स्थानमा सारिएको थियो । कैदीबन्दी बढ्दै जाँदा समस्या भएको हो । सेवा–सुविधाका हिसाबले अन्य जिल्लाका कारगारभन्दा राम्रो भए पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्दा अप्ठ्यारो भएको पौडेल बताउनुहुन्छ ।

“धेरै जना एकै ठाउँमा राख्दा सरुवा रोगको सङ्क्रमण छिटो फैलिने जोखिम बढेको छ”, उहाँले भन्नुभयो । बेला–बेलामा देशका कतिपय कारागारमा हैजा, झाडापखलालगायत सरुवा रोगका कारण एकैपटक सबै कैदीबन्दी बिरामी पर्ने समस्या देखिने गरेको छ । जिल्ला कारागारमा लागुऔषध कारोबारमा दोषी ठहरिएका कैदीबन्दी बढी छन् । खुला सिमानाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्नेको सङ्ख्या बढी छ । बन्दी बढ्दै गए थेग्न गाह्रो हुने र अन्यत्र कारागारमा सार्नुपर्ने अवस्था आउन सक्ने कारागारका कर्मचारी बताउँछन् ।