राष्ट्रपति पौडेलले दिए सांसद पदबाट राजीनामा

रामेछाप खबर संवाददाता

२९ फागुन, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिनुभएको छ । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।

राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्दै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने व्यहोरा जानकारी गराउनुभएको छ । साथै उहाँले सभामुख, सङ्घीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नं १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरुबाट आजसम्म प्राप्त साथ र सहयोगप्रति आभार प्रकट गर्नुभएको छ ।

प्रमिला यादवद्वारा उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता
जनता समाजवादी पार्टी ९जसपा० नेपालकोतर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएकी सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुुभएको छ ।

पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्नुभएका सांसद रामसहायक यादवलाई समर्थन गर्दै उहाँले उम्मेदवारी फिर्ता लिनुभएको हो । सांसद यादवले प्रेस विज्ञप्तिमार्फत लामो सङ्घर्ष र त्याग गर्नुभएका स्वच्छ छवि र उच्च विचारका रामसहायकलाई समर्थन गर्नाका साथै सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभएको छ ।

‘अब उप्रान्त म उपराष्ट्रपति पदका लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका माननीय यादवलाई आफ्नो अमूल्य मत लिई विजयी गराउन हुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेशसभा सदस्यलाई अपिल गर्दछु’ विज्ञप्तिमा भनिएको छ । यही फागुन २५ गते जसपाको कार्यकारिणी समितिको बैठकले संसदीय दलका नेता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।