रामचन्द्र पौडेल बने नेपालको तेस्रो राष्ट्रपति, पाए ३३ हजार ८०२ मतभार

रामेछाप खबर संवाददाता

२५ फागुन, काठमाडौं ।

कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

बिहीवाार भएको मतदानमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पाैडेलले ३३,८०२ मत प्राप्त गर्दा नेम्वाङले १५,५१८ मत पाए ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभाका ५८, प्रतिनिधिसभाका २७२ र प्रदेश सभाका ५५० सांसद मतदाता थिए । जसमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का ३१३ तथा प्रदेशसभाका ८१८ सदस्यले भोट हालेका थिए ।

संघीय संसद्का प्रतिसांसद मतभार ७९ र प्रदेशसभाका सांसदको प्रतिसांसद मतभार ४८ तोकिएको थियो ।

पौडेल २०५१ सालको निर्वाचनपछि सभामुख भएका थिए । नेम्वाङ पनि संविधानसभाका पूर्वअध्यक्ष एवं पूर्व सभामुख हुन् ।

दुवै उम्मेदवार मध्यमार्गी नेताको रूपमा परिचित छन् ।

एक दर्जन दलको समर्थन पाएपछि पौडेल राष्ट्रपतिमा सहजै विजयी भएका हुन् ।

पौडेललाई राष्ट्रपतिमा केन्द्र र प्रदेशसभामा सबैभन्दा ठूलो दल भएको कांग्रेस, तेस्रो ठूलो दल माओवादी केन्द्र, चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले मतदान गरे ।

यसअघि २०६५ साउनमा कांग्रेसकै डा. राववरण यादव पहिलो राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी २०७२ कात्तिक ११ सम्म राष्ट्रपति थिए ।

त्यसपछि एमालेकी विद्या भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । दोस्रो कार्यकालका लागि २०७४ फागुनमा २९ मा उनी पुनः निर्वाचित भइन् ।

यसअघि तीन कार्यकालमा दुई नेता राष्ट्रपतिमा निर्वाचित भएका थिए । पौडेलको जीतसँगै चौथो कार्यकालका लागि पौडेल तेस्रो राष्ट्रपति निर्वाचित भएका हुन् । उनी कांग्रेसबाट कार्यवाहक सभापति, उपसभापति, महामन्त्री, पटक–पटक मन्त्री र सांसद भएका नेता हुन् ।

पौडेल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ को चुनावमा तनहुँबाट प्रतिनिधिसभामा निर्वाचित हुँदै आएका छन् । पौडेल २०७४ मात्रै प्रतिनिधिसभामा पराजित भएका छन् ।

पौडेल २००१ असोज २९ मा तनहुँको बाहुन पोखरामा जन्मिएका थिए ।

पौडेल १४ राजनीतिक मुद्दामा जेलजीवन बिताएका थिए । उनले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्रीसम्मको अध्ययन गरेका छन् ।

पौडेल समकालीन नेताहरूमध्ये लोकतन्त्रप्रति प्रतिबद्ध, निष्ठावान र पारदर्शी नेताको रूपमा परिचित छन् । पौडेलले आफू जिते राजतन्त्रको राष्ट्राध्यक्षको तुलनामा गणतन्त्रको राष्ट्रध्यक्ष कसरी फरक हुन्छ भन्ने देखाउने दाबी गरेका छन् । आफू राष्ट्रपति भएपछि सवारीका नाममा सडक जाम नगराउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।

आफू कांग्रेसबाट राष्ट्रपति चुनिए पनि संविधान रक्षाका लागि निष्पक्ष भएर भूमिका निर्वाह गर्ने उनको भनाइ छ । संविधान र गणतन्त्रको रक्षाका लागि आफू खरो उत्रिने उनले बताएका छन् ।