तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा बावु पक्राउ

रामेछाप खबर संवाददाता

१८ फागुन,बागलुङ।

बागलुङमा आफ्नै तीन वर्षीया छोरी अरिसा दिनको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२, अमलाचौर घर भई जैमिनी नगरपालिका–४, सर्कुवा बस्ने २० वर्षीय सायर दिन रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।

सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबरका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

थप समाचार : बाह्र वर्षीय छोराको अगाडि गोली हानेर बाबुको हत्या !
सिड्नी – यहाँ एक १२ वर्षीय किशोरका अगाडि गोली हानेर उनका बाबुको हत्या भएको छ । मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई निजकै कारभित्र गोली हानी हत्या गरिएको साउथ वेल्स राज्यको प्रहरीले जनाएको छ ।

गोली प्रहारका बेला उनका छोरा साथमै रहेका प्रहरीले एक विज्ञप्ति निकालेर बताएको छ । प्रहरीले यो सङ्गठित अपराधको लक्षित आक्रमण भएको आशङ्का गरेको छ । चालीस वर्षीय ती व्यक्तिलाई गोली लागेको अवस्थामा भेटिएको तथा चिकित्सा सहायकहरूको प्रयासका बाबजुद उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्याको कारण खुलेको छैन । प्रहरी अनुसन्धान जारी छ ।

हिंसात्मक उक्त आक्रमणबाट ती किशोरलाई मानसिक आघात पुगेको ठानिएको छ । आक्रमणकारी माज्दा कार चढेर आएका आक्रमणकारीले हत्यापछि उक्त कार जलाएको जनाउँदै प्रहरीले त्यससम्बन्धी क्लोज सर्किट टेलिभिजन फुटेजका लागि स्थानीय बासिन्दासँग अनुरोध गरेको छ ।